Photo of Milford Sound in New Zealand

काठमाडौँ – राजधानीको सिनामंगलमा यस्तो ‘एभियसन म्युजियम’ खुलेको छ, जहाँ महँगो मानिने टर्किस एयरको एयरबस–३३० समेत राखिएको छ ।

करिब रु २५ अर्ब ६४ करोड पर्ने उक्त अत्याधुनिक एयरबस काठमाडौँमा अवतरण गर्ने क्रममा विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउण्डेड भएको थियो । सो विमानलाई उप्रेती ट्रष्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सहकार्य गरेर संग्रहालय बनाएको हो ।

रु सात करोडको लगानीमा इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेन वेद उप्रेतीले सो म्युजियम सञ्चालनमा ल्याएका हुन् । म्युजियमको अवलोकनका लागि नेपालीकाे लागि रु ३०० को टिकट तोकिएको छ ।

जम्मा आठ महिना उडेको म्युजियममा राखिएको उक्त विमान अत्याधुनिक र एकदमै महँगो एयरबस हो । एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन संग्रहालयमा राखिएको छैन ।

विश्वकै ठूलो एभिएसन संग्रहालय संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा रहेकोे छ, तर यति महँगो एयरबस– ३३० अहिलेसम्म कतै राखिएको छैन, जुन नेपालका एक व्यक्तिको पहलले सफल भएको छ ।

“चारसय ४० जना यात्रु क्षमताको यो वाइडबडी विमान विश्वकै आधुनिक हो । पच्चीस अर्ब रुपैयाँभन्दा बढी महँगो विमान अमेरिकाले पनि राख्न सकेको थिएन, कसैले खरिद गर्ने हिम्मत पनि गर्न सक्दैन”– उप्रेतीले भने । जहाँ पुग्नेहरुले सोहि विमान नियाल्न पाउनेछन् ।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रमा स्थापित विमानचालक उप्रेतीले स्थापना गरेको संग्रहालयले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन संग्रहालय शुरु गरिएको क्याप्टेन उप्रेतीको भनाइ छ ।

प्रत्येक बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने सो संग्रहालय अवलोकनका लागि नेपालीलाई रु ३०० तोकिएपनि विदेशीलाई रु ६०० शुल्क तोकिएको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई निःशुल्क र विद्यार्थी परिचयपत्र हुने अन्यलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने ट्रष्टले जनाएको छ । हाल एक महिनासम्म विद्यार्थीलाई रु १२५ मा प्रवेश दिइनेछ ।

एभिएसन म्युजियममा के छ ?

एभिएसन म्युजियमभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका ३५० भन्दाबढी ‘मिनिएचर’ मोडेल एयरक्राफ्ट राखिएको छ । एयरबस–३३० को ग्लास ‘ककपिट’, आधुनिक युद्धक विमान, सयौँ व्यापारिक एयरलाइन्सका विमान, नेपालको हवाई सेवा र नेपाली आकाशमा उडेका जहाज, इक्वीरेल हेलिकोप्टर आदिबारे कैयौँ ज्ञानवद्र्धक जानकारी उपलब्ध छ ।

त्यसैगरी, एभिएसनको इतिहास, नेपालका महत्वपूर्ण प्राकृतिक सम्पदा, धार्मिकस्थलका तस्वीर समेटिएको एरियल फोटोग्राफी (आकाशबाट खिचेका तस्वीर) प्रदर्शनी गरिएको छ । आगामी रणनीतिसम्बन्धी वृत्तचित्र हेर्न पाइने र नेपालको फिस्टेल एयरको हेलिकप्टर पनि संग्रहालयमा छ, जहाँबाट सेल्फी फोटो खिच्न सकिनेछ ।

यसले काठमाडौँमा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । यसअघि उप्रेतीले धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालन गरेका थिए ।

यसरी बनाइयो म्युजियम

त्रिविअविमा ग्राउण्डेड विमानलाई धावनमार्गबाट २०० मिटर परसम्म लैजान चार दिन लागेको थियो, जसले गर्दा विमानस्थल चार दिन बन्द भएको थियो ।

विशाल विमानलाई विमानस्थलको पूर्वी भागबाट संग्रहालय बनाइएको स्थानसम्म लैजान र जोड्न दर्जनौँ स्वदेशी तथा विदेशी प्राविधिकले लगातार चार महिनासम्म काम गरेका थिए । जम्मा नौ महिनामा म्युजियम तयार गरिएको हो । विमान खोल्न र जोड्नमात्रै एक लाख अमेरिकी डलर लागेको ट्रष्टका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले बताए ।

यो एयरबसको लम्बाइ २०८ फिट, पखेटाको लम्वाई १९७ फिट र उचाइ ५६ फिट छ । एक सर्वेक्षणअनुसार संसारभर अर्को एक दशकभित्र चार लाख ५० हजार नयाँ विमान प्राविधिक र तीन लाख ५० हजार पाइलट आवश्यक पर्नेछन् ।

नेपाललगायत कैयौँ देशमा अहिले नै दक्ष पाइलट अभाव रहेको स्थितिमा अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रमअन्तर्गत संग्रहालय सञ्चालन गरी युवा पुस्तालाई यो क्षेत्रमा आकर्षण गर्ने लक्ष्य रहेको उप्रेतीको भनाइ छ । source:ratopati

The post खुशीको खबर: अब ३०० रुपैयाँमा प्लेन चढ्न पाइने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AbVlS7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top