Photo of Milford Sound in New Zealand

काठमाडौं, २० कार्तिक । यतिखेर नेपाली चलचित्र क्षेत्रमा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दलहरुले कलाकारलाई टिकट दिन चासो नदेखाएको भन्दै आलोचना र टीकाटिप्पणी गर्ने क्रम सुरु भएको छ । अरु बेला कलाकार उपयोग गर्ने दलहरु निर्वाचनका बेला भने देखेको नदेखेझैं गरेको अधिकांशको टिप्पणी छ ।

कलाकारलाई दलहरुले कार्यक्रम र सभा समारोहमा भीड जुटाउने माध्यम बनाएको भन्ने उनीहरुको आरोप छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नाम चलेको कलाकारले प्रतिनिधिसभाको टिकट नपाएपछि यो आरोप केही हदसम्म सत्यको नजिक छ ।

अझ सांसदको टिकट दिन्छु भनेर राप्रपाबाट एमाले प्रवेश गराए पनि सो पार्टीले गायिका कोमल वलीलाई उम्मेदवार नबनाएपछि अहिले कलाकारहरु राजनीतिक दलप्रति निकै आक्रोशित भएका छन् । एमालेले प्रदेश र प्रतिनिधिसभाको टिकट नदिएपछि कोमलले बिहीबार दाङ ३ बाट स्वतन्त्र उम्मेदवार दर्ता गराएकी छन् ।

सो क्षेत्रबाट एमालेका हीराचन्द्र केसी उम्मेदवार बनेका छन् । उनी राप्रपाकी केन्द्रीय सदस्य थिइन् । यदि राप्रपामै बसेकी भए उनले सो पार्टीबाट टिकट पाउने निश्चित थियो ।

भएको सरकारी जागिर छाडेर रेडियो नेपालबाट राजीनामा दिएर राजनीतिमा लागेकी कोमल यतिखेर निकै तनावमा छिन् । उनलाई एमाले प्रवेश गराउने बेला प्रतिनिधिसभातर्फ प्रत्यक्ष नभए समानुपातिकमा उम्मेदवार बनाउने अध्यक्ष केपी ओलीले आश्वासन दिएका रहेछन् ।

तर अहिले गीत गाएर पार्टीमा लाग्नेवित्तिकै सांसदको टिकट कहाँ पाइन्छ ? भन्दै कोमलको आलोचना गर्ने क्रम सुरु भएको छ । यतिखेर उनी एमालेले आफूलाई निकै धोका दिएको भन्दै पार्टी छाड्ने मनस्थितिमा पुगेको उनी निकट कलाकारहरु बताउँछन् ।

कोमल वली मात्रै होइन, गत संविधानसभा निर्वाचनमा पनि एमालेले नायक भुवन केसीलाई यसरी नै उपयोग गरेको थियो । उसले भुवन केसीलाई सुरुमा काठमाडौं १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट दिएको पनि थियो । तर, १० घण्टा नबित्दै उनको टिकट खोसेर विद्या भट्टराईलाई दिइयो ।

त्यसपछि भुवन एमालेको राजनीतिमा त्यति सक्रिय छैनन् । उनी पार्टीका कार्यक्रममा जान छाडेका छन् । सांसदको उम्मेदवार बनाउँछ कि भनेर उतिबेला भुवन केसी पनि एमालेको मेचीदेखि महाकालीसम्मका कार्यक्रममा पुगका थिए ।

कोमल वलीलाई एमालेले टिकट नदिएपछि हास्य कलाकार जितु नेपाल, केदार घिमिरे माग्नेबुढा, दीपकराज गिरी, मनोज गजुरेललगायतले दलहरुले कलाकारलाई उपयोग गरेको र त्यस विषयलाई कलाकारले नबुझेको टिप्पणी गरेका छन् ।

जितु नेपालले त एमालेले कोमल वलीलाई हरियो घाँस देखाएर ठण्डाराम पारेको बताएका छन् । कुनै पनि पार्टीले कलाकारलाई आफ्नो स्वार्थका लागि बाहेक कुनै स्थान दिएनन् । यसको ज्वलन्त उदाहरण कोमल वली दिदी हुन्, जसलाई एमालेले हरिया घाँस देखाएर खोरमा भित्र्याएर ठण्डाराम पार्यो ।

यो घटना पहिलो होइन, यसभन्दा पहिले पनि भुवन केसीलगायत धेरैलाई ठण्डाराम पारेकै हो, जितुले भनेका छन् । कलाकार नेपालले गत बिहीबार फेसबुकमा स्टाटस राख्दै दलहरुले कलाकारलाई कार्यक्रममा भीड जम्मा गर्ने पात्र मात्र भन्ठानेको उल्लेख गरेका छन् ।

कुनै पनि दल र नेताहरुले हामीलाई सम्झिने भनेको यिनका आमसभा, चुनाव प्रचार प्रसारलगायतका कार्यक्रममा भीड जम्मा पार्ने माध्यम बन्ने र उनीहरुले भाषण गरुन्जेल जनता अड्याउने कामका लागि मात्रै हो ।

त्यसैले आफ्नो प्रतिभा र लोकप्रियताको भर परौं, आफ्नो पेसा इमान्दारीका साथ निर्वाह गरी सम्पूर्ण नेपालीको मनमनमा बस्ने काम गरौं, कुनै पार्टीको गोटी भएर हाँसोका पात्र मात्र नबनौं, उनको भनाइ छ ।

त्यस्तै, अर्का कलाकार दीपकराज गिरीले भने दलको टिकट भन्दा दर्शकले हलमा काट्ने टिकट धेरै मूल्यवान हुने भन्दै दलहरुसँग धेरै नजिक नहुन सचेत गराएका छन् । दलले दिने टिकटले कलाकारको भाउ घट्ने भन्दै उनले त्यो भन्दा ठूलो दर्शककै टिकट भएको उनको भनाई छ ।

कुन–कुन कलाकार परे उम्मेदवारको सूचीमा ?
नायिका करिश्मा मानन्धर र नायक नवल खड्का समानुपातिकतर्फ बन्दसूचीमा परेका छन् । करिश्मालाई बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सूचीको पहिलो नम्बरमा नाम राखेर पठाएको छ । यदि नयाँ शक्तिले ९० हजार मत कटाए एकजना समानुपातिक सांसद पाउनेछ ।

क्रमसंख्याको पहिलो नम्बरमै रहेकाले नयाँ शक्तिले करिश्मालाई सांसद बनाउन सक्नेछ । कलाकार र कलाकारिता क्षेत्रको पहिचान र सम्मान गर्दै समानुपातिक उम्मेदवारमा स्थान दिनुभएकोमा नयाँ शक्ति पार्टी नेपाललाई धन्यवाद, करिश्माले भनेकी छन् ।

यस्तै, निर्माता तथा नायक नवल खड्का पनि प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । उनलाई माओवादी केन्द्रले खोटाङ प्रदेश नम्बर १ प्रदेशसभाको समानुपातिकको सूचीमा राखेको हो । पार्टीभित्र थुप्रै कलाकार हुँदाहुँदै नवलको नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएपछि माओवादी केन्द्रभित्र असन्तुष्टि सरु भएको छ ।

यस्तै, निर्माता मधुकुमार श्रेष्ठले प्रदेशसभाको टिकट पाएका छन् । उनलाई कांग्रेसले धादिङ १ मा प्रदेशसभाको उम्मेदवार बनाएका छ । निर्माता तथा चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय राप्रपा (प्रजातान्त्रिक) बाट प्रदेश नम्बर ५ बाट समानुपातिकमा सिफारिसमा परेका छन् ।

निर्माता उद्धव पौडेल काठमाडौं ४ बाट राप्रपाको समानुपातिकमा सिफारिसमा परेका छन् । कांग्रेसले पुराना चलचित्र निर्माता सुबोधकुमार पोखरेललाई सप्तरी १ बाट प्रदेशसभामा उम्मेदवार बनाएको छ, तरुणमा छ ।

नायक तथा निर्माता रोज राणालाई कांग्रेसले प्यूठान क्षेत्र नम्बर २ बाट प्रदेशसभाका लागि सिफारिस गरे पनि पछि टिकट दिएन । सुर्खेत २ मा माओवादी केन्द्रबाट एक नम्बरमा सिफारिसमा परेका चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले मनोनयनको दिनमा आएर मैदान छाड्नु पर्यो ।

The post करिश्मा परिन् समानुपातिकमा, कोमल वलीको हात रित्तो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zBMhd7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top