शिवपुराणमा उल्लेख भए अनुसार आद्याशक्ति जगन्माता भगवतीको आविर्भावको कथा यस प्रकार छ – प्राचीन कालमा ‘दुर्गम’ नामक एउटा महाबली दैत्य उत्पन्न भयो । उसले ब्रह्माको वरदानका प्रभावले चारवटै वेदलाई लुप्त बनायो । वेद अदृश्य हुनाले समस्त वैदिक क्रिया बन्द भए । त्यस समय ब्राह्मण र देवताहरू पनि दुराचारी हुनपुगे । न कतै दान गरिन्थ्यो, न कसैले तपस्या गर्थ्यो, न यज्ञ सम्पादन हुन्थे, यज्ञयागादि र धार्मिक कार्यको अभाव हुनाले पृथ्वीमा सय वर्षसम्म वर्षा भएन । तीनै लोकमा हाहाकार भयो, सबै मान्छे अत्यन्त दुखी हुनपुगे । इनार, तलाउ, कुवा, सरोवर, खोलानाला र समुद्र सुके । सबै भोक र तिर्खाले सन्तप्त भएर मर्न थाले । जनतामा महान् दुःख र क्लेशको स्थिति सिर्जना भएको दृश्य देखेर स्वर्गका देवगण आद्याशक्ति माहेश्वरी योगमायाको शरणमा पुगे ।
माता अम्बेको दर्शन पाएर देवताहरूले भगवतीसँग बिन्ती गरे – हे महामाये, पृथ्वीतलमा बसोबास गर्ने आफ्ना सन्ततिको रक्षा गर्नुहोस् । सबै प्राणिहरू खडेरी र अनिकालको मारमा परेका छन्, भोजन र पानीको अभावमा चेतनाहीन भएका छन् । तीनै लोकमा ‘त्राहि-त्राहि’ मच्चिएको छ । जसरी हजुरले शुम्भ/निशुम्भ, चण्ड़/मुण्ड, रक्तबीज, मधुकैटभ र महिषासुर आदि असुरको वध गरेर हाम्रो रक्षा गर्नुभएको थियो, त्यसरी नै दुर्गमासुरका अत्याचारहरूबाट सबैको रक्षा गर्नुहवस् ।
देवताहरूको प्रार्थना सुनेर कृपामयी देवीले तिनलाई आफ्नो अनन्त नेत्रहरूद्वारा युक्त भएको दिव्य स्वरुपको दर्शन दिनुभयो, अनि पराम्बा भगवतीले आफ्ना ती अनन्त आँखाबाट आँसुको धारा बगाउन थाल्नुभयो । ती अश्रुधाराको प्रवाहबाट सबै तृप्त भए अनि समस्त औषधीमा समेत सिञ्चन भयो । नदीनाला र समुद्रमा समेत अगाध जल भरियो । पृथ्वीमा साग र फलफूलका आंकुराहरू पलाए । यसरी देवीको कृपाले देवता र मनुष्यसमेत समस्त प्राणी तृप्त भए । त्यसपछि देवीले ती देवतासित सोध्नुभयो – अब मैले तिमीहरूको कुन इच्छालाई पूर्ण गरौं त? के अभिलाषालाई सिद्ध गरौं? देवताहरूले एकमुखले तुरुन्त अनुरोध गरे – आमा ! जसरी अहिले भर्खरै समस्त विश्वमा आएको अनावृष्टिको सङ्कटलाई हटाएर सबैको प्राणको रक्षा गर्नुभयो, त्यसरी नै दुष्ट ‘दुर्गमासुर’लाई मारेर र त्यसद्वारा अपहृत वेदलाई प्रकट बनाई धर्मको रक्षा गर्नुहवस् ।
देवीले ‘एवमस्तु’ भन्नुभयो र देवताहरूलाई संतुष्ट र आश्वस्त तुल्याउनुभयो । देवताहरू पनि प्रसन्न हुँदै आआफ्ना घरतर्फ फर्किए । तीनै लोकमा आनन्द छायो । दुर्गमासुरले महामाया भगवतीले देवताहरूलाई दिएको वचनको जानकारी पायो । यो रहस्यलाई थाहा पाएर उसले आफ्ना आसुरी सेनाको सहयोगमा देवलोकमाथि आक्रमण गर्ने उद्देश्यले घेरा हाल्यो । करुणामयी माता भगवतीले देवताहरूको संरक्षणका लागि देवलोक स्वर्गलाई चारैतिरबाट एउटा चारदिवारी खडा गरी त्यस पर्खालबाहिर पहरा दिनुभयो । देवलोकको बहिरी घेरामा रहेको त्यो पर्खाल भगवतीको आफ्नै तेज र आभाले युक्त थियो । स्वर्गमा अक्रमण गर्न आएका दुर्गमासुरका सेनाले चौकीदारी गर्दै गरेकी भगवती दुर्गालाई देख्नासाथ आक्रमण गर्नथाले ।
यसै बीच देवीको दिव्य शरीरबाट काली, तारा, छिन्नमस्ता, श्रीविद्या, भुवनेश्वरी, भैरवी, बगलामुखी, धूमावती, त्रिपुरासुन्दरी र मातङ्गी – यी दस महाविद्याहरू अस्त्रशस्त्रद्वारा सुसज्जित भई प्रकट भए, साथै असङ्ख्य मातृकाहरू पनि उत्पन्न भए । देवीका अङ्गबाट उत्पन्न ती सबै मातृशक्तिले टाउकोमा चन्द्रमाको मुकुट धारण गरेको दृश्य देखिन्थ्यो । मातृशक्तिका असङ्ख्य स्वरूपहरूले हेर्दाहेर्दै दुर्गमासुरका तर्फबाट लड्न आएका एक सय अक्षौहिणी सेनालार्इ ध्वस्त तुल्याए । अन्त्यमा देवीले दुर्गमासुरलार्इ आफ्नो तिखो त्रिशूलले वध गर्नुभयो र वेदको उद्धार गरेर लार्इ प्रदान गर्नुभयो । त्यसैले दुर्गमासुरलार्इ मारेर उद्धार गरेका कारणले जगन्माता भगवतीको नाम दुर्गा रहन गयो । शताक्षी (धेरै आँखा भएकी) र शाकम्भरी (सागपात सिर्जना गरी प्राणीलार्इ भरणपोषण गर्ने) नाम पनि माता दुर्गाकै हो ।
The post यस्ताे छ भगवतीलार्इ ‘दुर्गा’ भनिनुकाे कारण appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2jWsLkr
via IFTTT
0 comments:
Post a Comment