दसैं आइसक्यो । गाउँघर सिँगारिन थालिसके । इच्छाकामना गाउँपालिका–१ स्थित कोलभञ्ज्याङका बलबहादुर चेपाङलाई भने अझै खर्च कसरी जोहो गर्ने भन्ने चिन्ता छ । ऋण दिन सक्ने व्यक्ति खोज्दै छन् उनी । ‘अन्नका नाममा ३ डोको मकै मात्र छ,’ चेपाङले भने, ‘म त बरु भोकै बस्न सकौंला, चाडबाडमा
छोराछोरीलाई कसरी भोको राख्नु ?’ पोहोर दसैं मनाउन खापेको २५ हजार ऋण अझै तिरिसकेका छैनन् । ‘ठेकी बेचेर अलिअलि पैसा जुटाउने तयारीमा छु,’ उनले भने, ‘धेरै आम्दानी हुँदैन, नपुगे ऋण नै खोज्नुपर्छ ।’ अघिपछि खोले, सिस्नु खाए पनि दसैंमा भातै खाने रहर छ उनलाई ।
वर्ष दिनमा ६ महिना अनिकाल सामना गर्न बाध्य यहाँका चेपाङ समुदायका लागि चाडबाड खल्लो हुने गरेको छ । जब दसंैं आउँछ, ऋणको भारीले थिचिन्छन् उनीहरू । चामल, मासु, नुन, तेल र लत्ताकपडा किन्न सापटी माग्नुको विकल्प हुँदैन । त्यो पैसा तिर्न मनाङ, पोखरा, गोरखासम्म पुगेर मजदुरी गरिरहेका हुन्छन् ।
आफ्नो उब्जनीले वर्ष दिन खान पुग्दैन । उनीहरूसँग पर्याप्त खेतबारी छैन । शक्तिशाली भूकम्पयता छाप्रोमा बस्दै आएकी ज्यानदालाकी सुकमाया चेपाङ पनि ऋण गरेरै दसैं मनाउने तयारीमा छिन् ।
‘बूढा पोखरामा कुल्ली काम गर्न गएका छन्,’ उनले भनिन्, ‘दसैंसम्म आउलान्, त्यस बेलासम्म आफैंले ऋण गरेर चामल तेल किन्छुु ।’ घर भत्किए पनि उनले राहत पाइनन् । ७ जनाको परिवार छ । छाप्रोमा सबैजना अटाउन मुस्किल छ । बाख्रासमेत भित्रै बाँध्नुपर्दा सुत्ने ठाउँ साँघुरो छ । खाना खाएपछि परिवार छिमेकमा बाँडिएर सुत्छन् ।
‘दसैंमा टाढादेखि पाहुना आउँछन्, ३० किलो चामलको बोरा ल्याउनैपर्यो,’ उनले भनिन्, ‘मासु पनि किन्नैपर्यो, पुराना लुगा फेर्नैपर्यो ।’ १० हजारजति ऋण गर्ने योजनामा छिन् सुकमाया । कोही शक्तिखोर त कोही फिस्लिङ बजार पुगेर चामल र नयाँ लुगा किन्छन् । मजदुरी गर्न गएकाहरू दसैंमा घर फर्कन्छन् । सबै जम्मा भएर खुसी साटासाट गर्छन् ।
दसैंका लागि खर्च जोहो गर्न ठेकी, डोको, काँक्रो बेच्न घण्टौं हिँडेर सदरमुकाम पुग्छन् । खर्च जोहो गर्न नसक्नेहरू भने सधैंझंै सिस्नु, गिठ्ठा, भ्याकुर र ढिंडो खान विवश हुन्छन् । ‘चामल किन्ने पैसा छैन,’ कालिका नपा–१० छेरबाङका ८१ वर्षीय खड्गबहादुर चेपाङले भने, ‘ऋण माग्न जाँदा पत्याउने कोही छैन, गरिबको दसैं यस्तै हो ।’ ८ जनाको परिवारलाई दसैंमा चामलकै भात खुवाउने चाहना छ उनलाई । एकजोर नयाँ लुगा हाल्न मन छ ।
‘साउने संक्रान्तिमा एक छाक भात खाएका थियौं,’ उनले भने, ‘त्यसपछि पेटमा चामलको गेडो परेको छैन ।’ उनका अनुसार टाँडमा २ डोकोभन्दा बढी मकै छैन । भदौमा भित्र्याएको मकै चाडबाडसम्म पुर्याउन गिट्ठा खोज्छन् । ‘५/६ डोको मकै फलेको थियो,’ खड्गले भने, ‘अहिले नै अनिकाल सुरु भयो, अर्को भदौसम्म के खाने ?’
हुनेखानेका लागि चाडबाड रमाइलो भए पनि न्यून आयस्तरकालाई महँगो बन्ने गरेको छ । ‘गाउँमा आम्दानीको स्रोत केही छैन, चाडबाड मनाउन ऋण खोज्नुको विकल्प छैन,’ चेपाङ अभियन्ता केपीकिरण शर्माले भने, ‘साँझ–बिहानको छाक जुटाउन समस्या छ, चाडबाडको बेला गाउँघर पुगेर आफ्नै आँखाले देख्दा आँसु झर्छ ।’ उनले चाडबाडले चेपाङलाई ऋणको बोझ बढाउने गरेको बताए ।
वर्षभरि दु:ख गर्ने उनीहरू रमाउने भनेकै दसैंको त्यही एक दिन हो । भोलिपल्टदेखि त्यही ऋण तिर्न फेरि हड्डी घोट्न निस्कनुपरिहाल्छ । नत्र ब्याज बढिहाल्छ । मासिक सयकडा ५ रुपैयाँका दरले ऋण लिने गरेको स्थानीय बताउँछन् ।
‘परापूर्वकालदेखि ऋण लिएर चाडबाड मनाउने चलन छ,’ पूर्व सांसद एवं चेपाङ अगुवा गोविन्दराम चेपाङले भने, ‘त्यसमा पनि कोसेली दिएर ऋण माग्ने गरिन्छ ।’ उनी ऋण लिएर चाडबाड मान्दा महँगो पर्ने बताउँछन् । ‘ऋण मागेरै चाडबाड मनाउनुपर्छ भन्ने छैन,’ उनले भने, ‘आफ्नो अवस्थाअनुसार बिनाऋण पनि मनाउन सकिन्छ ।’
०६८ को जनगणनाअनुसार नेपालमा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ । सबैभन्दा बढी चितवनमा छन् । यहाँ २८ हजार ९ सय ८९ जना बस्छन् । त्यसपछि मकवानपुरमा १९ हजार २ सय ३३ जना छन् । धादिङमा १४ हजार ४ सय ९२ र गोरखामा ३ हजार ४ सय ५४ जनाको बसोबास छ ।
अन्य जिल्लामा पनि फाट्टफुट्ट भेटिन्छन् । सांसद गोविन्दरामका अनुसार वर्ष दिनसम्म खान पुग्ने चेपाङ ७ प्रतिशत छन् । त्यस्तै ९ महिना खान पुग्ने २५, ६ महिना पुग्ने ४० र ३ महिनासम्म मात्र पुग्ने चेपाङ २८ प्रतिशत छन् । ‘जनसंख्या धेरै छैन,’ उनले भने, ‘सरकारले गाउँगाउँमा आम्दानीमूलक कार्यक्रम सञ्चालन गरेर यो समुदायको आर्थिक अवस्था बलियो बनाउनुपर्छ ।’
The post चेपाङले भने, ‘म त बरु भोकै बस्न सकौंला, चाडबाडमा छोराछोरीलाई कसरी भोको राख्नु ?’ पोहोर दसैं मनाउन खापेको २५ हजार ऋण अझै तिरिसकेका छैनन् … appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2htPFes
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.