केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लान इजरायल तयार
काठमाडौं, साउन ३१ – इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौट गर्ने संस्था पिआइबिएबिच छलफल सुरु भएको छ । यसअघि पाइलट फेज (परिक्षणकाल) का रुपमा नेपाली कामदार लगेको इजरायल उनीहरुको कामबाट सन्तुष्ट भएर थप कामदार लाने इच्छा देखाएको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताउनुभयो ।
थप कामदार लैजाने मोडलको विषयमा एक चरणमा छलफल भैसकेको र थप छलफल गरेर मोडल तयार गर्ने सहमती भएको अधिकारीले बताउनुभयो । श्रम तथा रोजगार मन्त्रालयले माग अनुसार कामदार पठाउन तयार रहेको तर कामदार छनोट गर्ने प्रक्रियामा केहि परिवर्तन गर्न माग गरेको छ ।
नेपालका तर्फबाट आवेदन दिएका सबैजनालाई परीक्षामा सहभागी गराउन माग गरिएको छ । पिआइबिएले पहिले ‘सटलिस्ट’ तयार गरेर मात्रै परीक्षामा सहभागी गराउँदा छनोटमा नपरेका कामदार असन्तुष्ट भएको भन्दै कम्तीमा परीक्षा दिने वातावरण मिलाउन वैदेशिक रोजगार विभागले आग्रह गरेको हो ।
यस्तै इजरायलले नेपाली कामदारको माग बढाउनका लागि १० वटा केन्द्र बनाउन लागेको जानकारी गराएको छ । केयरगिभरमा नेपाली कामदार जाँदा कुन घरमा कति कामदार चाहिएको हो माग संकलनका लागि अहिले इजरायलका ६ ठाउँमा केन्द्र रहेका छन् । थप ४ ठाउँमा माग संकलन केन्द्र बनाउने जानकारी इजरायल टोलीले दिएको छ ।
आ–आफ्नो तर्फबाट थप तयारी गरेर अबको मोडलका बारेमा छलफल गर्ने सहमती समेत भएको छ । २०७२ सालको साउन २२ गते नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार इजरायल पठाउने सम्झौतामा हस्ताक्षर भएको थियो । वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक भरत सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यही सम्झौता अनुसार पहिलो चरणमा नेपाली कामदार पुगिसकेका छन् भने दोश्रो चरणमा छनोट गरिसकिएको छ । दोश्रो चरणमा ५८ जना जाने तयारीमा छन् । आउँदो कात्तिक सम्ममा उनीहरु इजरायल उड्ने विभागले जनाएको छ । परिक्षणका रुपमा ३ सय कामदार लाने सम्झौता भएपनि पहिलो चरणमा ५९ र दोश्रो चरणमा ५८ जनाको मात्रै इजरायलबाट माग आएको हो ।
इजरायल जानेले स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोषको रकम गरी झण्डै १० हजार रुपैयाँ र हवाइ टिकटको मात्रै तिर्नु पर्छ । कामदारले प्रवेशाज्ञा र सेवा शुल्क बापत रकम तिर्नु पर्दैन ।
कम्तीमा प्रवेशिका परीक्षा उत्तीर्ण र अंग्रेजी राम्रो भएका महिला इजरायलको पहिलो प्राथमिकतामा पर्छन् । इजरायल जाने पुरषको संया थोरै छ । रोजगारीका लागि केयरगिभरको तालिम लिएका वा नर्सिङ विषय पढेकाले बढी प्राथमिकता पाउँछन् ।
इजरायलमा मासिक तलव न्युनतम एक लाख रुपैयाँ हुने भएकाले इजरायल नेपाली कामदारका लागि आकर्षक गन्तव्य बनेको हो । इजरायलमा बूढाबूढीलाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लगेको हो ।
यसअघि वैदेशिक रोजगार व्यवसायीले कामदार पठाउँदा ठगेपछि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । तर दुई वर्ष पहिले सरकारले नै कामदार पठाउने गरि सम्झौता भएपछि इजरायल नेपालका लागि खुला गरिएको हो । ujyaaloonline
The post खुशिको खबर: अब झण्डै १० हजार रुपैयाँ र हवाइ टिकटमा नेपाली कामदार इजरायल जान सक्ने .. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2vzncMr
via IFTTT
0 comments:
Post a Comment