Photo of Milford Sound in New Zealand

अस्ति तीजमा साडी लगाएर नाचेको फोटो फेसबुकमा राखिसकेकी थिइन् । ‘वा..साडीमा त क्या क्युट देखिएकी’ भनेर धेरैले कमेन्ट पनि गरेछन् । कमेन्ट पढेर उनलाई रमाइलो लाग्यो । यसैपाली तीजमा हो उनले पहिलोपटक साडी लगाएर व्रत बसेको, अनि दिदीहरुसँगै छमछमी नाचेको ।

तीजको व्रत बसेपछि पञ्चमी नुहाउन र पूजा पनि गर्नुपर्छ भनेर आमाले सिकाएकी थिइन् । अरु दिन फेरि लाउन पाइने हो कि होइन भनेर उनले आज पनि त्यही साडी लगाइन् । अनि एउटा हातमा दतिवनको मुठा, फर्सिको पातमा गोबर, प्लाष्टिकको थैलोमा माटो र खरानी बोकेर दिदी र पल्लो घरकी काकीसँगै खोलातिर हिँडिन् ।

अरु दिन भएको भए यताउता कोही छन् कि भनेर डराउँदै लुगा खोल्नपथ्र्यो । तर आज त दायाँबायाँ, वरपर सबैतिर आफैजस्ता महिला । लाज, संकोच, डर केही नभएपछि उनी धमाधम लुगा खोल्न थालिन् । साडी फुकालेर एकातिर राखिन् ।

ब्लाउजको पछिल्तर तुनाको गाँठो र खिप पनि खोलिन् । पेटिकोटको गाँठो फुकाएर छातीभन्दा अलि माथि बाँधिन् । आमा दिदीहरुले पँधेरोमा नुहाउने बेला यस्तै गर्थे ।

पेटीकोटमा मात्र उभिँदा उनलाई अलि असजिलो लाग्यो । पेटिकोटकै माथि म्याक्सी पनि लगाइन् । वरपर हेरिन् । कोही दतिवन टोक्दै थिए । कोही माटो, खरानी र गोबर ज्यानतिर दल्दै थिए । हजुरआमा, आमा र दिदीले गर्दै आएको चलन । पञ्चमीमा यसै गर्नुपर्छ भनेर उनलाई पनि सिकाएका छन् ।

मामाघर निस्कनेबेला आमाले दिदीसँग पञ्चमी नुहाउनु है भनेर सम्झाएकी थिइन् । हिजो दिदीसँगै मिलेर उनले दतिवन खोजिन् । बिहान गोबर, माटो र खरानी अनि दतिवनको मुठा बोकेर उनी दिदी र छिमेकी काकीहरुको पछि लागेर खोला झरेकी हुन् । सबैको साथमा यसरी हिँड्न र सँगै नुहाउन पाउँदा उनलाई रमाइलो पनि लागिरहेको थियो ।

सिमसिम पानी परेर सिकसिक लागेपनि उनले गोबर हातमा लिइन् । ‘ओइ कान्छी त्यहाँ पनि दल्नुपर्छ’ खोलामा निहुरिएर नुहाउन थालेकी पल्लोघरकी काकीले हाँस्दै भनिन् । उनलाई लाज र घिन लाग्यो । काकी र दिदीहरु भएको ठाउँभन्दा अलि पर पुगेर उभिइन् । दतिवन टोक्न सजिलो भएपनि गोबर, खरानी र माटो दल्न उनलाई अप्ठेरो लाग्यो ।

अप्ठेरो लागेर के गर्नु, दल्नैपर्ने होला । खोलामा घुँडाघुँडा पानी आउने ठाउँमा पसेर ज्यानमा गोबर माटो दल्नै लागेकी थिइन्, अलि पर लामो कपाल र दाह्री भएका मान्छे प्रकट भए ।

‘आबुई’ भन्दै दुवै हातले छाती छोपिन् ।

‘नडराउ नानी म अरु मान्छे होइन, ऋषी हुँ’ नदीमा प्रकट भएका व्यक्ति बोले ।

‘को ऋषी ?’ उनी डराइन् ।

‘आज तिमीले जसको सम्झना गरेकी छौ, हो म त्यही ऋषी ।’

‘मैले कसैको सम्झना गरेको छैन..’

उनलाई अझै विश्वास भएन । लुगा टिपेर पर दिदी र काकीहरु भएको ठाउँमा जान खोजिन् ।

‘एकछिन पख नानी, मेरो कुरा सुन’ ऋषीले रोके, ‘हेर आज ऋषिपञ्चमी । पञ्चमी नुहाउन आउँदा तिमीले जसको सम्झना गरेकी छौ, म त्यही ऋषी हुँ । आज तिमीले मेरो कुरा सुन्नै पर्छ ।’

ऋषी एकोहोरो बोल्दै गए –

मैले यसअघि कसैलाई नभनेको कुरा तिमीलाई भन्दैछु । आज ऋषिपञ्चमीको दिन तिमीजस्तै धेरै महिलाले यसैगरी गाईको गोबर, माटो र खरानी दलेर नुहाउने गर्छन् । ३ सय ६५ दतिवनले दाँत माझ्छन् ।

रजश्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए त्यसको शुद्धाशुद्धिका लागि भनेर नुहाउने तथा पूजा गर्ने चलन छ । तिमीलाई पनि तिम्रा आमा दिदीहरुले महिनावारी या रजश्वला पाप हो भनेर भनेका होलान् । अनि पाप पखाल्न भन्दै तिमी पनि खोलामा नुहाउन आएकी होलाउ ।

तर नानी रजश्वला पाप होइन । तिमीलाई थाहा छ नि, मानव सृष्टि महिलाबिना संभव छैन । रजश्वला महिलाको गर्भाधान गर्नसक्ने क्षमताको प्रतीक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।

गर्भाधान नभएका डिम्बहरु महिलाको गुप्ताङ्गबाट निस्कने सामान्य प्रक्रिया नै रजश्वाला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र सृष्टिको कारकका रुपमा बुझ्नुपर्छ । यति कुरा त तिमीलाई पनि राम्रोसँग थाहा छ नि ।

अहिले पनि महिनावारी बार्ने तथा छुवाछुत गर्ने चलन छ । तिम्रा आमा र दिदीहरुले पनि बार्नुभएको होला । तिमीलाई पनि महिनावारी भएको बेला छुन दिनु हुन्न होला ।

तैपनि आमा र दिदीहरुले जस्तो कष्ट त तिमीले झेल्नुपरेको छैन जस्तो लाग्छ । पहिलोपटक महिनावारी भएको बेला आमा र दिदीहरु अरुकै घरमा बस्नुपर्थ्यो । तिमीले त परेन होला । तर तिम्रो उमेर हाराहारीका धेरै किशोरी अहिले पनि पहिलोपटक महिनावारी हुँदा परिवारका सदस्यलाई हेर्न हुँदैन भनेर अरुकै घरमा बस्न बाध्य छन् । अनि मध्य र सुदूरपश्चिमका कतिपय गाउँमा त छाउगोठमा गएर बस्नुपर्छ । छाउगोठमा बस्दा सर्पले टोकेर ज्यान गएको तथा बलात्कारमा परेको घटना त तिमीले पनि सुनेकी छौ ।

महिनावारी अर्थात रजश्वला भएको बेला छुन हुन्न भन्ने चलन बस्नुको छुट्टै कारण छ । पहिले महिलाले धेरै काम गर्नुपथ्र्यो । सरसफाईमा ध्यान दिनुपर्छ भन्ने ज्ञान पनि थिएन । रजश्वला भएकोबेला धेरै आराम गर्नुपर्ने र सरसफाईमा ध्यान दिनुपर्ने भएकाले यस अवधिभर कसैलाई छुन हुँदैन भन्ने नियम बस्यो । ता कि महिलाले धेरै काम गर्न नपरोस्, आराम मिलोस् । अनि फोहोरले संक्रमण पनि नगरोस् ।

तर अहिले जमाना अर्कै भैसक्यो । धेरै महिलाहरु यसबारे जागरुक भैसकेका छन् । महिनावारी अर्थात रजश्वला भएको बेला सरसफाईमा ध्यान दिनुपर्छ र संक्रमणबाट जोगिनुपर्छ भन्ने कुरालाई मात्र मनन गर्दा पुग्छ अब । यो पाप हो भन्दै छि छि र दूर गर्नु चाहिँ महापाप हो ।

यसपाली तिम्रो सरकारले पनि महिनावारी भएको बेला छाउगोठमा बस्न बाध्य पार्नेलाई कार्बाही गर्ने कानुन बनाइसकेको छ । अर्थात महिनावारीको बेला महिलामाथि छुवाछुत र भेदभाव गर्नेले अब दण्ड पाउँछ । यति ठूलो कानुन बनिसकेको बेला पाप पखाल्न भन्दै गोबर, माटो, खरानी र दतिवन बोकेर पञ्चमीमा नुहाउन आएको देख्दा मलाई अचम्म लाग्यो ।

गोबर, माटो दल्दा त झन् फोहोर हुन्छ, संक्रमण हुन्छ । यति सानो कुरा त तिमीलाई राम्रोसँग थाहा छ नि । अब आमा दिदीहरुलाई पनि सम्झाउनुप¥यो । पाप पखाल्न भन्दै गोबर माटो बोकेर यसरी फोहोर खोला र नदीमा नुहाउन आउने होइन ।

छाउगोठमा बस्न बाध्य पार्नेलाई सजाय दिने कानुन कार्यान्वयनमा आइसकेको बेला महिनावारीको पाप पखाल्न भन्दै ऋषिपञ्चमी नुहाउने र त्यसरी नुहाउने महिलालाई सार्वजनिक बिदा दिने चलन आपसमा बाझिएको छ ।

स्मरण रहोस् महिलाको योनीबाट बग्ने रजश्वालाको रगत नै जगतको आधार र सृष्टिको सुरुवात हो । यही सत्य तिमीले आफ्ना आमा, दिदी र संगीहरुलाई बुझाउन सक्यौ भने महिनावारीको बेला हुने छुवाछुत र छाउपडी कुप्रथाको अन्त्य गर्न बल पुग्छ ।

यति भन्दै ऋषी अन्तर्ध्यान भए । जीउमा गोबर दल्नै लागेकी उनी झल्याँस्स भइन् । हातमा लागेको गोबर पखालिन् । माटो, खरानी र दतिवनको टुक्रा खोलामा मिल्काइन् । साडी र ब्लाउज लगाएर बाटो लागिन् ।

‘यो कान्छीले कति छिटो सिध्याइसकिछ, सबैतिर दलेर नुहाइस् नि हैन’ पल्लोघरकी काकीले सोध्दै थिइन् । । ‘अँ’ भन्दै उनी साडीको फेर समातेर फटाफट हिँडिन् । ujyaaloonline

The post पञ्चमी नुहाउनै लाग्दा किशोरीको अघिल्तिर प्रकट भए ऋषीमुनी ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wGpwDk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top