Photo of Milford Sound in New Zealand

२८ असार, काठमाडौं ।

रामेछापका ७५ वर्षीय दुर्गाप्रसाद घिमिरे थापाथलीबाट जाउलाखेल जाँदा साझा यातायातमा चढे । उनले बस भाडा दिँदै गर्दा साझा यातायातले भाडा नै लिएन ।

आफूजस्ता ज्येष्ठ नागरिकका लागि साझा यातायातले पूरै भाडा छुट गरेको छ भन्ने कुरा दुर्गाप्रसादलाई थाहा नै थिएन । “एक दिन म थापाथलीबाट साझा यातायातमा जाउलाखेल जाँदै थिए, तर भाडा दिएको त मलाई नै फिर्ता दियो, त्यसमा ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरेको रहेछ, खुशी लाग्यो”– उनले भने ।

विगत चार वर्षदेखि नयाँ बानेश्वरस्थित सडक विभाग नजिकै धर्ना बस्दै आएका सिन्धुलीका ८२ वर्षीय नारायणप्रसाद पोखरेलले साझा यातायातमा भाडा छुट दिएकोप्रति खुशी व्यक्त गरे । पोखरेल नयाँ बानेश्वरबाट जडीबुटी जाँदा साझा यातायातले भाडा लिएन ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा साझा यातायातले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई काठमाडौँ उपत्यकाभित्र निःशुल्क यात्राको व्यवस्था गरेको साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको परिचयपत्र, अपाङ्गता भएका व्यक्ति (‘क’ र ‘ख’ वर्गमा पर्ने) दृष्टिविहीन (ह्वाइलचियरको प्रयोग गर्ने) लाई साझा यातायातको झाडामा छुट दिन सुरू गरिएको हो ।

सुन्धारा नजिकै सडकमा गीत गाएर आफ्नो गुजारा चलाउँदै आएका दृष्टिविहीन धीरेन राईले साझाले दृष्टिविहीनलाई भाडा निःशुल्क गरेकोमा खुशी व्यक्त गरे । काठमाडौँ उपत्यकामा चल्ने अन्य सार्वजनिक यातायातमा गत वर्षदेखि ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट गर्ने व्यवस्था लागू हुँदै आएको छ ।

“ज्येष्ठ नागरिकको हकमा सरकारले केही गरेको छ, तर गर्नुपर्ने अझै धेरै छ, ज्येष्ठ नागरिकका लागि काम गर्ने सरकारलाई हामी धन्यवाद दिन चाहान्छौँ”–विगत पाँच वर्षदेखि नयाँ बानेश्वरमा धर्नामा बस्दै आउनुभएका महाप्रसाद पराजुलीले भने ।

अग्रज समाज नेपालका अध्यक्षसमेत रहेका पराजुलीले साझामा भाडा निःशुल्क गर्नु प्रशंसायोग्य भएको बताए । अहिले ज्येष्ठ नागरिकले रु दुई हजार वृद्धाभत्ता (सामाजिक भत्ता) पाउँदै आएका छन् । त्यसैगरी ज्येष्ठ नागरिकले परिचयपत्रको आधारमा सार्वजनिक यातायातामा र सरकारी अस्पताल (स्वास्थ्य उपचारमा) मा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

ज्येष्ठ नागरिकले सरकारले दिँदै आएको मासिक रु दुई हजार वृद्ध भत्तालाई बढाउनुपर्ने, स्वास्थ्य र यातायातमा दिइएको ५० प्रतिशत छुटको व्यवस्थालाई जिल्ला–जिल्लामा कार्यान्वयन गर्नुपर्ने माग राखेर विगत पाँच वर्षदेखि महाप्रसाद पराजुलीले धर्ना बस्दै आएका छन् । धर्ना बस्ने ज्येष्ठ नागरिकमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्राललयका उपसचिव मीरा शेरचनाका अनुसार विगत दुई वर्षदेखि ७५ वटै जिल्लामा रहेका महिला बालबालिका कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिँदै आएको छ । उनका अुनसार हालसम्म करिब तीन लाख ज्येष्ठ नागरिकले परिचयपत्र पाइसकेका छन् ।

धर्नामा बस्ने ज्येष्ठ नागरिकमध्ये धेरै जना आफन्त नभएका, छोरा बुहारीले वृद्धाश्रम र सडक छेउमा बेवारिसे अवस्थामा छोडिदिएका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहेका व्यक्तिका आमाबाबु सहभागी छन ।

अध्यक्ष पराजुलीले सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मात्र वृद्ध भत्ता दिने गरेको हुँदा ६० वर्षदेखि नै दिन सुरु गर्नुपर्ने माग गरे। विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब २२ लाख रहेको छ । रासस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sSFlRF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top