काठमाडौं – आमहिन्दू नारीले झैँ अभिनेत्रीहरूले पनि साउन महिनालाई विशेष रूपमा लिने गरेको पाइन्छ । फिल्मको पर्दामा अत्याधुनिक भूमिका निर्वाह गरे तापनि वास्तविक जीवनमा भने अधिकांश अभिनेत्रीले सादापन अपनाउने गरेका छन् । साउनभरि माछा–मासु नखाने, मेहन्दीले हात खुट्टा रंग्याउने, हरियो चुरापोते लगाउने, निराहार व्रत बस्ने तथा साउने सोमबार मन्दिर गएर शिवजीको भक्तिभाव गर्ने अभिनेत्री थुप्रै छन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई साउन महिना निकै रंगीचंगी लाग्छ । ‘मलाई साउन महिना निकै रंगिन लाग्छ । नारीहरू रातो साडी, हरिया चुरापोतेमा झकिझकाउ भएर हिँड्छन्,’ उनी भन्छिन्, ‘आफूलाई सजाउने, भगवान्को भक्तिभाव गर्ने अनि शाकाहारी बन्ने भएकाले मलाई यो समय निकै उत्तम लाग्छ ।’ विगतका वर्षमा झैँ यसपालिको साउने सोमबार पनि उनी व्रत बस्ने गरेकी छिन् । ‘म निराहार व्रत त बस्दिनँ,’ उनी भन्छिन्, ‘साउने सोमबार भने फलफूल खाएर व्रत बस्छु । पशुपतिनाथको दर्शन गर्छु ।’ हप्तामा एक दिन व्रत बस्नु वैज्ञानिक रूपले पनि फाइदाजनक हुने राय उनको छ ।
दीपाश्री भेजिटेरियन भएको झन्डै दुई दशक पुगिसकेको छ । ‘मैले माछामासु छोडेर २० वर्ष जति भयो,’ उनी भन्छिन्, ‘साउने सोमबार मात्र होइन, म तिजमा पनि व्रत बस्छु । यसपालि पनि फिल्मका कारण पोहोरझैँ अलि बढी दौडधूप छ । तर, पनि मैले भगवान्प्रतिको आस्था र अर्चनामा रत्तिभर कमी हुन दिएकी छैन ।’ दीपाश्रीले साउन लाग्नेबित्तिकै हातगोडा मेहन्दीले सजाएकी छिन् ।
हिरोइन, निर्मात्री हुँदै ‘ए मेरो हजुर–२’ बाट निर्देशक बनेकी झरना थापा हरेक साउनमा व्रत बस्ने गर्दथिन् । तर, यसपालि भने चाहेर पनि उनले साउने सोमबार व्रत राख्न सकिनन् । ‘सधैँ साउने सोमबारको व्रत बस्दै आएकी थिएँ । तर, यसपालि फिल्मको कारणले देश–विदेश गरिरहनुपर्ने भएकाले चाहँदाचाहँदै पनि मिलेन,’ उनी भन्छिन्, ‘दुई हप्तापछि फिल्म प्रदर्शनका लागि जापान जाँदै छु । त्यसैले यसपालि व्रत बस्ने
अवस्था भएन ।’
झरना निकै धार्मिक स्वभावकी छिन् । हरेक शुक्रबार सन्तोषी माताको व्रत पनि बस्ने गरेकी उनी साउनभरि भेजिटेरियन हुने गर्दछिन् । ‘व्रत बस्न नसकेपछि साउनभरि भने भेजिटेरियन भएकी छु,’ उनी भन्छिन्, ‘फिल्मको कामको चापले गर्दा मैले यसपालि मेहन्दी लगाउनसमेत भ्याएकी छैन ।’
साउने सोमबार व्रत बस्न नसकेपछि तिजको व्रत भने कसैगरी पनि नछुटाउने अठोट झरनाको छ । ‘तिजको व्रतचाहिँ जसरी पनि बस्छु,’ उनी भन्छिन्, ‘खास मनको शान्ति र भगवान्प्रतिको अगाध आस्था र विश्वासका कारण पूजाआराधना, व्रत बस्ने गरेकी हुँ ।’
अभिनेत्री रजनी केसी भने साउने सोमबार पानी पनि नपिई व्रत बस्ने गरेको बताउँछिन् । ‘मलाई भगवान् शिवजीप्रति अगाध विश्वास छ,’ उनी भन्छिन्, ‘त्यसैले साउने सोमबार पानीसमेत नपिई व्रत बस्ने गरेकी छु ।’ पानी पनि नपिई व्रत बस्दा स्वास्थ्यमा समस्या आउँछ कि भन्ने डर लागेको भए पनि ‘भगवान्को कृपा’ले आफूलाई केही नभएकोमा उनमा ‘कन्फिडेन्ट’ बढेको रहेछ । ‘ममी, दिदीहरूले त पानी, फलफूल खाऊ भन्नुहुन्छ, तर म केही पनि खादिनँ ।
सायद, शिवजीको आशीर्वादले होला, अहिलेसम्म मैले व्रत पूरा गरिरहेकी छु ।’ असार मसान्तमै हात–गोडा मेहन्दीले रंगाएकी रजनी साउनभरिलाई भेजिटेरियन भएकी छिन् । ‘साउनभरि म भेजिटेरियन भएकी छु,’ उनी भन्छिन्, ‘भगवान् शिवको पूजा–आराधनाले मनमा शान्ति र बेग्लै प्रकारको आन्नद प्राप्त हुन्छ ।’ साउनका सोमबार पशुपतिनाथको दर्शन गर्ने गरेको उनी बताउँछिन् । उनी तिजमा पनि आफू निरहार व्रत बस्दै आएको बताउँछिन् ।
अभिनेत्री सञ्चिता लुइँटेल पनि शिवभक्त हुन् । हरेक सोमबार उनी पशुपतिनाथको दर्शन गर्ने गर्छिन् । पहिला साउने सोमबार व्रत बस्ने गरेकी उनले यसपालि भने व्रत राख्न सकिनन् ।
‘पहिलाका साउनका हरेक सोमबार व्रत बस्थेँ । तर, यसपालि स्वास्थ्य अलि ठीक नभएकाले व्रत बस्न सकिनँ,’ उनी भन्छिन्, ‘व्रत नबसे पनि साउनभरि माछामासु खान्नँ । सोमबार मन्दिर गएर पूजा गर्छु ।’ भगवान्को शक्ति र आराधनामा आफ्नो अगाध विश्वास रहेको
उनी बताउँछिन् ।
‘म सधैँसधैँ शिवजीकी उपासक’ अर्की अभिनेत्री महिमा सिलवाल भन्छिन्, ‘तर, यसपालि क्या बोर भयो !’
के बोर भएछ त महिमालाई ? ‘म साउनभरि सधैँ भेजिटेरियन हुने गरेकी थिएँ, तर यसपालि साउन लाग्दा हङकङमा थिएँ । त्यसैले मासु खानैपर्ने बाध्यता भयो,’ उनी भन्छिन्, ‘त्यसैले यसपालिको साउनमा माछा–मासु बार्न सकिनँ । तर, सोमबारको व्रत भने बस्छु ।’ मेहन्दीले हातपाउ रंगाइसकेकी महिमा सबैको भलो होस् भनेर व्रत बस्ने गरेको बताउँछिन् ।
अभिनेत्री जाहान्वी बस्नेत अहिलेसम्म व्रत बसेकी छैनन् रे ! ‘कहिलेकाहीँ व्रत बस्दा स्वास्थ्यलाई राम्रो हुन्छ, तर अहिलेसम्म म व्रत बसेकी छैन,’ उनी भन्छिन्, ‘मेरो प्रेसर लो छ । त्यसैले व्रत बस्नै सक्दिनँ ।’
साउनमा महिलाले लगाउने मेहन्दी, हरिया चुरा, नेल पेन्ट आफूलाई निकै मनपर्ने उनी बताउँछिन् । ‘हातमा मेहन्दी त लगाएकी छु, तर पूजाआजा गर्ने, व्रत बस्ने काम भने गरेकी छैन,’ उनी भन्छिन् । रहर लागे पनि छिनछिनमा केही न केही खाइरहनुपर्ने बानीका कारण व्रत बस्दा भोकले मरिन्छ भन्ने उनलाई लाग्ने रहेछ । ‘दिनभरि कसरी भोकै बस्न सक्छु होला र ?’ उनी भन्छिन्, ‘भोकै बसेर राम्रो पति पाइन्छ, आयु बढ्छ भन्ने कुरामा मलाई विश्वास छैन ।’ तिज उनको मन पर्ने पर्व हो । ममी, आन्टी, बहिनी, साथीबीच गिफ्ट आदान–प्रदान हुने भएकाले पनि तिज उनलाई विशेष लाग्ने गरेको रहेछ । नयाँ पत्रिकाले छापेको छ ।
अभिनेत्री जेबिका कार्की पनि व्रत बस्ने गर्दिनन् । साउन भनेर विशेष रूपमा पूजा–आजा गर्ने बानी पनि छैन, उनको । ‘म नास्तिक होइन । भगवान् मान्छु । व्रत र पूजा–आजाले होइन कि असल कर्मले भगवान्लाई प्रसन्न बनाउनुपर्छ,’ उनी भन्छिन् । साउने सोमबारको व्रत, पूजा–आजा नगर्ने भए पनि तिज भने उनलाई रमाइलो लाग्छ रे !
‘व्रत नबसे पनि तिजमा हुने नाचगान र जमघट भने मलाई मन पर्छ,’ उनी भन्छिन्, ‘साउन लागेपछि हातमा मेहन्दी भने लगाएकी छु ।’ मेहन्दीले नारीको सुन्दरता चम्काउने बुझाइ उनको छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uPWrnb
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.