Photo of Milford Sound in New Zealand

–हरिकृष्ण गौतम
जतिबेला मुलुकमा शसस्त्र द्वन्द्व चर्किएको थियो त्यतिबेला प्रहरीको जागिर छोडेर विकल्प खोज्ने थुप्रै थिए । तर, पाएको आकर्षक जागिर छाडेर प्रहरीमा भर्ति हुने हुटहुटी थियो ललितपुरकी बसुन्धरा खड्कालाई ।

द्वन्द्वको चरमोत्कर्षका बेला प्रहरी निरीक्षकको पदबाट उनी सेवामा प्रवेश गर्दा चिनेजानेका धेरैले आश्चर्य मानेका थिए । छरछिमेक र आफन्तले आश्चर्य माने पनि आफ्ना बाबुआमाले भने हौसला प्रदान गरिरहे उनलाई ।

प्रहरी सेवामा आउनका लागि उनले २०५८ सालमा सेवा प्रवेशको आवेदन दिएकोमा साढे दुईबर्ष पछाडि नतिजा सार्वजनिक भयो । भाग्यवस उनी छनोटमा परिन् ।

सेवा प्रवेशसँगै उनको बिहेबारे घरमा चर्चा पनि सुरु भइसकेको थियो । तर, आफ्नो पेशा बुझ्ने जीवनसाथी भइदिए हुन्थ्यो भन्ने उनलाई पहिलादेखि मनमा थियो । नभन्दै उनलाई प्रहरी सेवामै कार्यरत ललितपुर जाउलाखेलका दिलिप घिमिरेसँग विवाह गर्ने अवसर जु¥यो ।

एउटै सेवामा कार्यरत एकै जिल्लाका भए पनि उनीहरूबीच चिनजान भने थिएन । आफन्तले नै उनीहरूको जोडी मिलाइदिए । २०६३ सालको बैशाखमा विवाह बन्धनमा बाँधिएका जोडीको अहिले १० वर्षको छोरा छ ।

दुबैजना प्रहरी नायब उपरीक्षक बनिसकेका छन् । बसुन्धरा हाल जिल्ला प्रहरी कार्यलय म्याग्दीमा प्रहरी प्रमुखका रुपमा कार्यरत छिन् भने घिमिरे महानगरिय प्रहरी अपराध महाशाखा, काठमाडौंमा छन् ।

‘रातदिन देश र जनताको सेवामा समर्पित रहँदा फुर्सद त खासै निस्किदैन,’ खड्काले भनिन्, ‘घरका सासु ससुराले बुहारीको पेशागत कर्तव्यबारे बुझेका कारण घरका लागि समय दिन नपाउँदा कुनै चित्त दुखाई गर्नुभएको छैन ।

श्रीमान् सहित घरका तीनजना छोरा प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीमा कार्यरत भएकाले उहाँहरूको कुनै गुनासो पाइन ।’

घरमा कुनै समस्या देखिए दिलिप अग्रसर भएर समाधान गर्ने गर्दथे । अरुको गुनासो नभए पनि सधैं व्यस्त हुँदा कहिलेकाँही दिक्क लाग्ने गरेको बताउँछन् प्रहरी नायब उपरीक्षक घिमिरे ।

सधैं व्यस्त हुने महानगरीय अपराध महाशाखामा कार्यरत उनी श्रीमतीसँग कुरा हुँदा पनि व्यवसायिक कुरा नै बढी गर्छन् । ‘निजी जीवनका बारेमा २० प्रतिशत कुरा हुने गरे पनि ८० प्रतिशत भन्दा धेरै त व्यवसायिक कुराले प्राथमिकता पाउने गर्छन्,’ घिमिरेले भने ।

खड्काले जागिरे जीवनमा अहिलेसम्म परिवारसँग लामो समय बिताउन पाएकी छैनन् । शसस्त्र युद्धमा राज्य र विद्रोही पक्षको भिडन्तले पारिवारिक रूपमा दिने गरेको त्रासलाई दुवैले अझै सम्झन्छन् । खड्का प्रहरी प्रधान कार्यालयमा कार्यरत हुदाँ घिमिरे देशका विभिन्न जिल्लाका खटिएका थिए ।

सूचना र प्रविधिको समेत सहज पहुँच नहुने अवस्थामा धेरै समय सम्पर्क बाहिर हुने गरेका अनुभव समेत दुवैजनासँग छ । ‘म काठमाडौंमा कार्यरत हुदाँ उहाँ धेरै बर्ष जिल्लामा खटिनुभयो । दुवैको एउटै पेशा भएकाले पनि सहज रूपमा लिने गरेका थियौं,’ खड्काले अनुभव सुनाइन् ।

निजी जीवन सफल बनाउन व्यवसायिक जीवन समेत बलियो हुनुपर्ने उनको तर्क छ । समस्या र नयाँ अनुभव आदान–प्रदान गरेकै कारण आफ्नो व्यवसायिक र परिवारिक सम्बन्ध सफल भएको उनले बताइन । २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका घिमिरेले आफ्नो अनभुवलाई श्रीमतीलाई सुनाउने गरेको बताउँछन् ।

‘परिवारसित सँगै नभएपनि बिहान बेलुकी मोवाईल, सामाजिक सञ्जालबाट भिडियो कल गरेर कुराकानी गर्ने गरेका छौँ ।’

दुवैजना जागिरमा व्यस्त हुदाँ छोरा दिवियान्तलाई पर्याप्त समय दिन भने उनीहरूले पाएका छैनन् । जतिबेला तालिमका लागि खड्का भारत पुगेकी थिइन् त्यतिबेला दिवियान्त ४ महिनाका थिए ।

त्यसबेला घिमिरे समेत जिल्ला बाहिर खटिएका थिए । घिमिरेका आमाबुबाको निधन भएपछि दिवियान्त मामा घरमा बस्ने गरेका छन् । अहिले १० वर्ष पुगिसके । ‘हामीले छोरालाई समय नै दिन पाएका छैनौ । छोरा विरामी हुदाँ समेत समय दिन पाएका छैनौं’ दुवैले गुनासो गरे ।

उनीहरूलाई त्यतिबेला समस्या हुन्छ जतिबेला छोराले फोन गरेर विदाबारे सम्झाउँछ । ‘जब क्यालेन्डरमा सरकारी विदा देख्छ दिवियन्तले फोन गर्छ र भन्छ कहिले आउनुहुन्छ ?’

उनीहरूले उसलाई कयौं पटक अनेक बाहाना बनाएर ढाँटे । तर, त्यो पनि सधैं छोराले पत्याउने कुरै भएन । ‘सबैभन्दा बढी छोरालाई ढाँटेका छौं । अहिले त हामी दुवैजनाले सल्लाह गरेर एउटै जवाफ दिन्छौं’, प्रहरी नायब उपरीक्षक घिमिरेले भने ।

छोराले बाबा भन्दा पनि आमालाई धेरै खोज्ने गरेको बताउँदै घिमिरेले विस्तारै छोराले समेत आफ्नो जागिरको महत्व बुझ्न थालेको बताए ।

चाडपर्व, पूजाआजा र अति महत्वपूर्ण समयमा समेत दुवैजनाको अनुपस्थितिले परिवारका अन्य सदस्य निराश हुने गरे पनि आपूmहरूको बाध्यताबारे परिवारलाई थाहा भएकाले सहज भएको प्रनाउ खड्काले बताइन् ।

‘प्रत्यक्ष समय दिन नपाए पनि छोरालाई बिहान बेलुकी सामाजिक सञ्जालबाटै पढाइमा सघाउने गरेकी छु,’ उनले भनिन् ।

खड्काले नायब महानिरीक्षकको स्टाफ अफिसर, महिला तथा बालबालिका निर्देशनालय, मानवअधिकार इकाई, काठमाडौंको सोह्खुट्टे क्षेत्रको प्रहरी प्रमुखका नेतृत्वसँगै शान्ति स्थापनार्थ सुडानको मिसनमा उत्कृष्ट कार्यसम्पदान गरेकी थिइन् ।

दक्षिण सुडान नयाँ देश घोषणा हुदाँ जोखिमपूर्ण क्षेत्रमा पुगेर गरेको कामको अनुभव उनको जीवनको अविस्मरणीय क्षण हो । ‘देशभित्र भन्दा द्वन्द्वग्रस्त क्षेत्रमा खटिदाँ परिवारको खुब सम्झना आउँथ्यो,’ उनले भनिन् ।

परिवारसित सँगै नभएपनि बिहान बेलुकी मोबाईल, सामाजिक सञ्जालबाट भिडियो कलमार्फत यो जोडी परिवारको सम्पर्कमा रहिरहन्छ । ‘सूचना र प्रविधिको प्रयोगले निकै सहज बनाएको छ,’ घिमिरेले भने, ‘तर कहिलेकाहीँ निकै व्यस्त भइन्छ । कुराकानी समेत हुन पाउँदैन ।’

पेशाका कारण घरलाई पर्याप्त समय दिन मुस्किल भएता पनि यो जोडी सक्दो प्रयत्न भने गरिरहेको हुन्छ । ‘दुवै व्यस्त भएपनि हामीले घरपरिवारलाई सन्तुष्ट बनाएका छौं । यस हिसाबले हामी सफल जोडी हौ,’ डिएसी खड्काले भनिन् ।

(नागरिक परिवारबाट साभार)

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2urxVbB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top