काठमाडौं, जेठ १८ – काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन निकै चुनौती र जोखिमपूर्ण छ । धुवाँधुलो, साँघुरा सडक, बढ्दो गाडीको चाप, खाल्डाखुल्डी, चालक र पैदलयात्रुको लापरबाही जस्ता कारण ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण छ । तर ट्राफिक प्रहरीले एकपछि अर्को गर्दै ट्राफिक व्यवस्थापनमा सुधार गरेको छ । वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरेको ट्राफिक प्रहरी महाशाखाले जेठ १६ गतेबाट जथाभावीबाट बाटो काट्न पनि रोक लगाएको छ । तर ट्राफिक प्रहरीको यो प्रयासलाई कतिपय नागरिकले बिना तयारी हतारिएर लागु गरेको आरोप लगाएका छन् । यसैबारेमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा डिआइजी मिङमार लामासँग नारायण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :
वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा हर्न बजाउन निषेध गर्नुभयो । तपाईको यो कदमलाई धेरैले असम्भव पनि भनेका थियो । हर्न निषेध योजना सफल भएको हो ?
ट्राफिक व्यवस्था एकदम जटिल छ । मैले जिम्मेवारी सम्हालेदेखि नै यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागि परेका छौं । यसै अनुसार चैत २२ गते दुईवटा महत्वपूर्ण निर्णय गरियो । एउटा हर्न निषेध र अर्को जथाभावीबाट बाटो काट्न निषेध । सुरुमा हर्न निषेधलाई गलत अर्थमा बुझियो । हर्न बजाउनै नपाइने भनेको होइन । घुम्ती तथा मोडहरुमा र चालकलाई मैले हर्न बजाइन भने दुर्घटना हुन सक्छ भन्ने लागेमा हर्न बजाउन पाइन्छ । चालकले म जाने बेला भयो, आफ्नो सिटमा बस्नुस् भन्नका लागि, लामो हर्न बजाउने, जाम भएको बेला हर्न बजाउने, लामो हर्न बजाउने जस्ता काम निषेध गरिएको हो ।
यही आधारमा वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा हर्न बजाउन निषेध गरियो । त्यसबेला धेरैजसोले यो काम असम्भव भने । तर हामीले सम्भव बनाएरै छाड्यौं । शतप्रतिशत नभएपनि ९० प्रतिशत हर्न निषेध भएको छ । म सिभिलमा हिँड्दा विशेषगरी मोटरसाइकलले हर्न बजाएको सुन्छु । त्यसलाई पनि निरुत्साहित गर्न हामीले सिभिलमा ट्राफिक प्रहरी परिचालन गरेका छौं । अब त्यो अवस्था पनि घट्दै गएको छ । अहिलेसम्म हर्न बजाउनेबाट २१ लाख रुपैयाँ राजश्व संकलन भइसकेको छ ।
हर्न बजाउन नपाइने योजना सफल भएपछि जथाभावी बाटो काट्नेलाई पनि कारबाही गर्न थाल्नुभएको छ । यो कार्यान्वयन होला ?
जथाभावीबाट बाटो काट्नेलाई कारबाही गर्ने योजना नयाँ होइन । यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र १३७ मा भएको व्यवस्था लागू गरेका हौं । दफा १३६ मा पैदल यात्रुले सडक पेटीबाट हिँड्नुपर्ने सडक पेटी नभएको ठाउँमा सडकको किनाराबाट हिँड्नु पर्नेछ भनि उल्लेख गरिएको छ ।त्यस्तै दफा १३७ मा पैदल यात्रीले बाटो काट्दा जेब्रा क्रस, आकाशे पुल, र सव वेबाट बाटो काट्नु पर्ने उल्लेख गरिएको छ । त्यही व्यवस्था हामीले लागू गरेका हौं । कार्यान्वयन पनि हुन्छ ।
फोनमा कुरा गर्दै जथाभावीबाट बाटो काट्ने, कानमा इयर फोन राखेर गीत सुन्दै बाटो काट्ने, जथाभावी बाटो काट्ने प्रवृति देखियो । जसले गर्दा दुर्घटना पनि बढे । गएको वर्षको काठमाडौं उपत्यकाको सडक दुर्घटनाको अवस्था हेर्ने हो भने ४२ प्रतिशत पैदल यात्रुको ज्यान गएको देखिन्छ । पैदल यात्रु वास्तवमा एक जना पनि मर्नु नपर्ने हो । तर डरलाग्दो तथ्याङ्क देखियो । यसको मुख्य कारण भनेको जथाभावीबाट बाटो काट्नु हो ।
यसरी पैदय यात्रुका कारण हुने दुर्घटना रोक्न यो व्यवस्था लागू गरिएको हो । यो व्यवस्था लागू भएपछि ५० प्रतिशत दुर्घटना कम हुन्छ । काठमाडौं उपत्यकामा वार्षिक १५० देखि १७० जनाको सडक दुर्घटनामा परेर ज्यान जाने गरेको छ । यो नियम लागू भएपछि तिनीहरुलाई बचाउन सकिन्छ ।जनचेतनाका कार्यक्रम नगरी सिधै नियम लागु गरियो । पहिला नागरिक सचेतना कार्यक्रम गर्नुपथ्र्याे भन्ने पनि कुरो उठेको छ नि !
यो आरोप हामीले पनि सुनेका छौं । तर आरोप सत्य होइन । जनचेतना जगाउन हामीले हाम्रो पाटोबाट धेरै काम गर्याैं ।
जस्तै के के काम गर्नुभयो जनचेतना जगाउन ?
वैशाख १५ गतेदेखि जनचेतना जगाउने काम हामीले काम गर्यौं । विभिन्न वर्ग र समुदायका मानिसलाई सडकमै ल्याएर जनचेतनाका कार्यक्रम गर्यौं । वैशाख १५ गते नै सामुदायिक सेवा केन्द्रका कर्मचारी, प्रहरी सामुदायिक केन्द्रका कर्मचारको सहभागितामा काठमाडौं उपत्यकाका २६ ठाउँमा एकै पटक जनचेतना सम्बन्धी कार्यक्रम गर्यौं । पैदल यात्रीलाई सडकपेटीबाट हिँड्नुपर्छ भन्यौ । वैशाख २८ गतेदेखि सडक पेटीमा राखिएका पसलहरु हटायौं । सडक पेटीमा पार्किङ गरिएका गाडी हटायौं । जनचेतना अभियानमा कलाकारलाई पनि सहभागी गरायौं । स्काउट र कलेजका २ हजार भन्दा बढी विद्यार्थीले जेठ १५ गतेसम्म यसबारेमा जनचेतना जगाउने काममा सहयोग गर्नुभयो ।
सडकमा जेब्रा क्रसिङ मेटिएको छ । भएको ठाउँमा पनि जेब्रा क्रसिङ गर्ने ठाउँमै बार लगाइएको छ । जेब्रा क्रसिङबाट बाटो काट्न १५ मिनेटसम्म हिँड्नुपर्ने अवस्था पनि छ । यो अवस्थामा नियम लागू गर्दा कत्तिको व्यावहारिक हुन्छ ?
अहिले मेलम्ची खानेपानी आयोजनका पाइप लाइन बिस्तार कारण सडकमा भएका जेब्रा क्रसिङ मेटिएका छन् । भएका ठाउँका जेब्रा त्रसिङ मेटिएका छन् । यसबारे हामीले चैत २२ गते सडक व्यवस्था विभागलाई हामी यो नियम लागू गर्दैछौं । सडकमा रोड मार्कहरु बनाइदिनु पर्यो भनेर आग्रह गर्यौं । उहाँहरुले हुन्छ पनि भन्नुभयो । तर अहिलेसम्म सडक विभागले रोड मार्क बनाइदिएन । सडक विभागले नबनाएपछि हाम्रो आग्रहसँग महानगरपालिकाले हामीलाई झण्डै १० लाख रुपैयाँ निकासा गर्यो । त्यही रकमले हामीले केही ठाउँमा जेब्रा क्रस बनाएका छौं ।जहाँसम्म तपाईले यो नियम व्यवहारिक होला भन्ने कुरा गर्नुभएको छ, त्यही भएर हामीले सबै ठाउँमा यो नियम लागू गरेका छैनौं । जुन ठाउँमा जेव्रा क्रस छ, आकोश पुल छ, सव वे छ त्यहाँ मात्र यो नियम लागू भएकाले व्यवहारिक छ ।
अलि हतार भएन र ? सबैतिर जेब्रा क्रस, सडक बत्ती, आकाशे पुल बनाएपछि पनि त लागु गर्दा हुन्थ्यो नि ?
उपत्यकाका सबै सडक चिल्लो हुने, सबै सडकमा जेब्रा क्रस हुने, ट्राफिक लाइट हुने, आकाशे पुल हुने र सबै पूर्वाधार बनाइसकेपछि यो नियम लागू गर्छौं भन्नु सम्भव छैन । एक ठाउँको सडक बनाउन पाएको छैन अर्को ठाउँमा भत्किन सुरु हुन्छ, एक ठाएँको ट्राफिक बत्ती बनाउँदा अर्को ठाउँको बिग्रीसकेको हुन्छ । एक ठाउँमा जेब्रा क्रस बनाउँदा अर्को ठाउँको खुइलिसकेको हामीले भोगेकै छौं । अब सबै कुरा एकै पटक हुनै सक्दैन भने अब हामीले लागू नगर्ने ? के ४२ प्रतिशत मानिस मरिरहुन् ? त्यो त हुन सक्नदैन । कम्तीमा पनि सडक अनुशासन पालना गरौं भनेर यो नियम लागू गरिएको छ । मलाई लाग्छ यसले सबैलाई हानी भन्दा पनि फाइदा नै छ ।
भनेपछि अब दुर्घटना कम हुने भयो हैन ?
काठमाडौं उपत्यकाको दुर्घटनाको ट्रेन के छ भने हरेक २४ घण्टामा २० वटा दुर्घटना हुन्छन् । जसमा ४ जनासम्मको ज्यान जान्छ । हामीले यो नियम लागू गरेकै दिन जेठ १६ गते काठमाडौं उपत्यकामा १४ वटा दुर्घटना भए । तर कुनै पनि मानिसले ज्यान गुमाउनु परेको र अस्पताल जानु परेको छैन । यसले नतिजा पनि दिन थालेको प्रष्ट हुन्छ । जेब्रा क्रसबाट मात्र बाटो काटियो भने ६० प्रतिशत दुर्घटना कम हुन्छ ।
मानौं कुनै विद्यार्थीले जेब्रा क्रसबाट बाटो काटेन । त्यसलाई तपाईहरुले पक्रिनुहुन्छ । विद्यार्थी परीक्षा दिन वा पढ्न गएको हुन्छ । तपाईहरुले ३ घण्टा राख्दा परीक्षा छुट्न पनि सक्छ, दुई सय रुपैयाँ तिर्न विद्यार्थीसँग पैसा नहुन पनि अब के गर्नुहुन्छ ?
समस्या बिनाको मान्छे कोही पनि हुँदैन । सबै हतारमै हुन्छन् । कसैको परीक्षा छुट्ला, कसैको प्लेन छुट्ला भनेर हामीले छोड्यौं भने त्यहाँ विद्रोह हुन्छ । यो चुनौती हामी माझ छ । हामीले पैदल यात्रुको अवस्था हेरेर ट्रिट गर्न फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई भनेका छौं । उहाँहरुको अवस्था हेरेर छोड्न पनि सकिन्छ ।
साभार-उज्यालो अनलाईन
from SHYANE http://ift.tt/2sshnMC
via IFTTT
0 comments:
Post a Comment