काठमाडौं, २ असार – सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिएकी ७३ वर्षीया केदारकुमारी याक्खा ल्याउन सफल भएकी छन् ।
‘भर्खर थाहा पाएँ । खुसी भएकी छु,’ उनले शुक्रवार दिउसो लोकान्तरसँग भनिन्, ‘ इच्छा पूरा गर्न मात्र जाँच दिएकी हुँ । ’
उनले उच्च शिक्षा पढ्ने/नपढ्ने विषयमा निर्णय लिइनसकेको वताइन् । जाँच दिँदा उनि ७३ वर्षकी थिइन् । अहिले ७४ टेकेकी छन् ।
भक्तपुरको बोडे माविबाट एसईईमा परीक्षा दिएकी थिइन् । उनको परीक्षा सेन्टर ठिमीको आदर्श उच्च माविमा परेको थियो । परीक्षामा भाग लिने उनी सबैभन्दा वृद्ध विद्यार्थी थिइन् ।
वृद्ध उमेरमा पनि एसईई दिएर उनले सबैलाई आश्चर्य पारेकी थिइन् । पढ्न उमेरले छेक्दैन भन्ने उदाहरण पनि बनिन् उनी । इलामको फिक्कलस्थित तीनघरेमा जन्मेकी याक्खालाई सानोमा पढ्न नपाएकोमा चुकचुक लागेको थियो ।
एसईई पास गरेर कलेजमा एकचोटि भएपनि नाम लेखाउने धोको भएपनि त्यसवारेमा केही समयपछि मात्र निर्णय लिने उनले वताइन् । वैशाखमा ७४ लागेकी उनि स्वस्थ्य छिन् ।
दश नातिनातिनीको हजुरआमा याक्खाले तीन वर्षअघि नाति आमोद र एन्जिलासँग एसएलसी दिएकी थिइन् तर सफल भइनन् । अघिल्लो वर्ष चाहिँ फारम भर्न ढिला भएको कारण उनी परीक्षामा सामेल हुन सकेकी थिइनन् । यसपाली जसरी पनि एसईई पास गर्ने अठोटका साथ उनी कम्मर कसेर पढाइमा होमिएकी थिइन् ।
दश वर्षअघि कोटेश्वरमा सञ्चालित अनौपचारिक महिला शिक्षा पढ्न होइन हेर्न मात्रै गएकी थिइन् याक्खा । ‘कक्षामा जाँदा मिसहरूले किताब र कापी थमाइदिए । त्यसपछि पढ्ने मूड बनेको हो’ उनले थपिन् ।
पेप्सीकोलास्थित महिला चेतनशीलबाट उनले कक्षा पाँचसम्मको औपचारिक शिक्षा पूरा गरिन् । लगत्तै उनले सानोठिमीबाट आठ कक्षा पास गरिन् त्यो पनि सोचेभन्दा बढी नम्बर ल्याएर । सफलता मिल्दै गएपछि उनमा पढ्ने हौसला थप बढ्दै गएको हो ।
अनुहार चाउरी परिसकेको भएपनि एसईई पास गरेर क्याम्पस जाने रहर उनको छ ।
‘नाति आमोद एसएलसी पास गरेर इन्जिनियर पढ्न कलेज गएको छ, नातिनी नर्सिङ पढ्न कलेज गइरहेकी छन्’ उनले हाँस्दै भनिन्, ‘मेरो यसपाली कलेज छिर्ने साेंच छ ।’ कलेज गएर एकपटक नामसम्म लेखाउने धोको उनको छ ।
यो उमेरमा पनि निकै फुर्तिलो देखिन्छिन् उनी । अलिअलि प्रेसरको समस्या छ । बिहान ४ बजे उठेर घरनजिकैको फूटबल मैदानमा दिनको १४ चक्कर लगाउन भ्याउँछिन् ।
पढाइका कारण घरबाट बाहिर ननिस्केको देखेर छिमेकीले यसपाली एसईई दिन लागेको मेसो पाएका थिए ।
कमजोर आँखालाई सहज पार्न २२ वर्षअघि चश्मा लगाउन शुरु गरेकी उनको घोरिएर किताबमा घोत्लिने बानी चाहिँ हटेको छैन । इलामको सामान्य परिवारमा जन्मेकी उनको परिवार ठूलो थियो । तीन दाजुभाइ र पाँच दिदीबहिनीमा उनी काइँली हुन् ।
केहीले बुढ्यौली उमेरमा दानधर्म तीर्थ जाने बेलामा किन बेकारको दुःख गरेर पढाइ गरेको भनेर पनि सोध्ने गरेको उनले सुनाइन् । तर आफूले कसैको कुरा नसुन्ने गरेको उनको भनाइ छ । छोरीलाई पनि छोरासरह पढ्न लेख्न प्राथमिकता दिनुपर्ने उनको माग छ ।-lokaantar
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2rDlW5U
via IFTTT
0 comments:
Post a Comment