Photo of Milford Sound in New Zealand

भरतपुर महानगरपालिकाको मतगणना जारी छ।

२९ मध्ये १६ वडाको मत गनिसक्दा एमालेका मेयर उमेद्वार देवी ज्ञवाली ३ हजार भन्दा बढी मतले अघि छन्।

मतगणनामा घरि कांग्रेस र माओवादी केन्द्रकी साझा उमेद्वार रेणु दाहाल घरि ज्ञवालीले महानगरको मतगणनामा अग्रता लिँदै आइरहेका छन्। यी दुवैको तीव्र प्रतिष्पर्धाले यहाँको मतगणना रोचक बन्दै गइरहेको छ।

अन्तिम मतपरिणाम ज्ञवाली वा दाहाल कसका पक्षमा जान्छ भन्नेमा सबैका आ–आफ्नै विश्लेषण छन्। हामीले भरतपुरका दुबै उम्मेदवारलाई सोध्यौं–के तपाईंले जित्नुहुन्छ? कसरी?

कांग्रेस र माओवादी केन्द्रकी मेयर उमेद्वार रेणु दहालले आफैंले यो चुनाव जित्ने बताइन्।

‘अहिलेसम्म एमाले प्रभाव क्षेत्रमा मत गणना भइरहेको थियो। अब हाम्रो प्रभाव क्षेत्र सुरु हुन्छ,’ उनले भनिन् ‘मैले नै जित्छु। प्रतिस्पर्धा तीव्र भएकाले भारी मतान्तर भने हुन गाह्रो छ। सामान्य बहुमतले मैले नै जित्नेमा म ढुक्क छु।’

अहिलेसम्म वडा नम्बर १ देखि १२, २८ र २९ मा मतगणना सकिएको छ। यी वडा एमाले सांसद कृष्णभक्त पोखरेलको क्षेत्र भएकाले पनि आफूलाई मत कम आउने पहिलेदेखि अनुमान भएको उनले बताइन्।

अब मत गन्ने वडाहरु १३, १४, २४ र २५ मा आफ्नो प्यानल नै आउने उनको दाबी छ। १५ देखि २१ सम्म कांग्रेसको प्रभाव हुने भएकाले पनि त्यहाँ आफ्नो मत धेरै आउनेमा उनी ढुक्क देखिन्छन्। २६ वडामा पनि राम्रो मत पाउने उनले बताइन्। यो वडा दिव्यनगर क्षेत्र पर्छ। कांग्रेसको प्रभाव भएको र यहाँ आफ्ना मतदाता पनि कम नभएको उनको जिकिर छ।

‘अब मत गणना हुने वडामा धेरैजसो कांग्रेस र केही माओवादीका आधार क्षेत्र हुन्,’ उनले भनिन्।

अहिले मतगणना भइरहेको वडा नम्बर २७ भने एमालेको प्रभाव क्षेत्र भएको उनले बताइन्।

‘अहिले गनिरहेको २७ वडासम्म जाँदा भने अझै एमालेले ४ हजारले अग्रता लिन सक्छ,’ उनले भनिन्, ’त्यसपछि हाम्रो मत बढी हुँदै जान्छ।’

संविधानसभामा यहाँका दुवै क्षेत्र माओवादीले हारेको थियो। तर दाहालका अनुसार चितवनका ग्रामीण क्षेत्रमा माओवादीको आधार राम्रो छ। त्यही पनि कांग्रेससँगको तालमेलकै कारण आफूलाई धेरै मत आएको उनले स्वीकार गरिन्।

‘कांग्रेससँगको तालमेलकै कारण हामीले राम्रो मत ल्याएका हौँ,’ उनले भनिन्। त्यस्तै कांग्रेसजनले जति मत दिन्छन् भन्ने अनुमान थियो त्यति नआएको उनको भनाइ छ।

उनीहरुले १५ प्रतिशत तलमाथि हुने अनुमान गरेका थिए। तर परिणाम हेर्दा ६० प्रतिशत मात्रै कांग्रेसले आफूलाई भोट हालेको दाहालले बताइन्। ‘तालमेलबारे तल्लो तहसम्म पुगेर जनतालाई बुझाउने समय नभएकाले सोचेजस्तो मत आएन,’ उनले भनिन्, ’तालमेलकै कारण कांग्रेस उमेद्वार फिर्ता हुनु परेकाले पनि कतिपय कांग्रेसका साथीलाई चित्त बुझेको छैन। जुन स्वभाविक हो। हामीले उहाँहरुलाई सम्झाउन पनि पाएनौं अनि मत बाँडियो।’

त्यस्तै राष्ट्रिय राजनीति र देशमा आफ्नो पार्टीकै कारण प्राप्त उपलब्धि जनतासम्म बुझाउन नसकेकाले पनि कतिपयले आफूलाई मत नदिएको हुनसक्ने उनले बताइन्।

प्रधानमन्त्री पुत्री भएकैले भरतपुरमा रेणुलाई उठाएको भन्दै विरोधीहरुले गरेका टिप्पणी पनि उनलाई चित्तबुझेको रहेनछ।

‘यहाँका उमेद्वार र एमाले अध्यक्षले नै मलाई लिएर गरेका टिप्पणी उहाँहरु जस्तो नेतालाई सुहाउँदैन,’ उनले भनिन्, ‘मेराविरुद्ध केही कुरा नभेटेपछि प्रचण्डपुत्री भनेर आलोचना भयो। मैले देश र जनताका लागि सानैदेखि आफ्ना व्यक्तिगत रहर छोडेर राजनीतिमा लागेकी छु। आवश्यकता अनुसार देशका विभिन्न ठाउँमा पुगेँ। त्यो कुरा उहाँहरुले हेर्नुभएन।’

अब चितवनमा बसेर यहाँका जनताकै लागि काम गर्ने उनले बताइन्।

‘म चितवनकै छोरी हुँ यहाँ मेरो आवश्यकता भएकाले यहीँ आएँ। अब यहाँकै जनताका लागि काम गर्नेछु, यही केही गर्नेछु,’ उनले भनिन्। source:setopati.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qR7Yi7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top