जेठ १५ । आइतबार राति १० बजे । काठमाडौैं झकाउन लागेको थियो । एक खबर सनसनीरुपमा सामाजिक सञ्जालहरुमा फैलियो । खबरले सुत्न लागेका जनताका कान ठाडा भए । खबर थियो–‘राष्ट्रकवि माधवप्रसाद घिमिरे अब रहनु भएन ।’
लैनचौरस्थित घिमिरेको निवासमा राति १० बजे ल्यान्डलाइन फोनमा पहिलो घन्टी बज्यो । त्यो लगातार साढे ११ बजेसम्म बजिरह्यो । सबैको एउटै प्रश्न थियो– ‘राष्ट्रकविज्यूजको स्वास्थ्य कस्तो छ ?’
त्यो बेला राष्ट्रकवि घिमिरे सुतिसकेका रहेछन् । घरमा छोरा बुहारीले उठाउन चाहेनन् । उनीहरुले सबै ठीकठाक रहेको जानकारी दिइरहे ।
सोमबार बिहान हामी घिमिरेको निवास पुग्दा घटनाबारे वर्णन गर्दै घिमिरेकी जेठी बुहारी विजयता घिमिरेले भनिन्, ‘कसरी एक्कासी यस्तो खबर फैलियो थाहा नै भएन । बुवालाई चाहीँ हामीले आज बिहान सुनायौं । ’
राष्ट्रकविज्यू, आफ्नो मृत्युको खबर एकाबिहानै आफन्तबाटै सुन्दा कस्तो लाग्यो ? भन्ने प्रश्नमा सय वर्ष पुग्न एक वर्ष भन्दा अलिकति मात्रै बढी समय बाँकी रहेका घिमिरेले भने, ‘बडो आश्चर्यजनक खबर लाग्यो मलाई । म शब्दले सय पुगे । समयमा अलिकति बाँकी छ । यो बेला मेरो मृत्युको खबर मैले नै सुने । आफू जीवीतै रहेको बेला आफ्नै मृत्युको खबर सुन्दा धेरै अनौठो र दूर्लभ घटना लाग्दो रहेछ । ’
राष्ट्रकवि घिमिरले मृत्यु बारेका हल्लाबारे कुराकानी गर्दै भने, ‘आजैमा राति के देखे सपना मै मरि गएको’ झन्डै झन्डै मेरो यो गीत जस्तै भयो घटना । राति मैले म मरेको सपना त देखिनँ तर त्यस्तै त्यस्तै अनुभव भयो । ’
सय वर्षका हाराहारीमा रहेका राष्ट्रकवि हिजो आज कान अलिकम सुन्न थालेका छन् । बाँकी स्वास्थ्य ठीक देखिन्थ्यो । आफ्नो स्वास्थ्यबारे घिमिरले भने, ‘अरु सबै ठीकै छ । धेरै हिँडडुल गर्दा अलि थाक्छु ।’
source:nepalaaja.com
from SHYANE http://ift.tt/2rg2Nsi
via IFTTT
0 comments:
Post a Comment