बिक्छ त केवल एक्सन । त्यसैले त उनको परिचय नै छ, ‘एक्सन हिरो’ । प्रसंग हो, अभिनेता निखिल उप्रेतीको । त्यसो त उनी बलिउडमै जम्न चाहन्थे । मुम्बई गएर वर्षौं संघर्ष पनि गरे । तर, बलिउडमा जे सिके फर्केर देखाए, नेपालमै । ‘पिँजडा’बाट नेपाली चलचित्रमा डेब्यु गरेका निखिल ०५८ यता निरन्तर एक्सन हिरोको परिचयमा छन् । महेश तिमल्सिनासँग निखिलले बताए फिल्मी जीवनका फरकफरक एक्सन :
ब्रुस्लीको फोटो हेर्दै बलवान् बन्ने रहर
सानै उमेरदेखि केही न केही सिर्जनात्मक काम गरौँ भन्ने लाग्थ्यो । खासगरी आर्टमा रुचि थियो । फुर्सद भयो कि आर्टमा समय खर्चिन्थँ । त्यो उमेरमा स्वभाव भने निकै लजालु थियो । सानोमा माछा–मासु पनि खान्नथेँ । त्यसैले घरमा बुबाआमाले कमजोर हुने भयो भनेर चिन्ता बोक्नुहुन्थ्यो । तर, ममा भने माछा–मासु नखाए पनि बलवान् बन्छु भन्ने धारणा जन्मियो ।
त्यसो त हाम्रो पालामा मोबाइल, टेलिभिजने थिएन । त्यतिखेर त नोटबुकमा किङ अफ मार्सल आर्ट भनेर चिनिने ब्रुस्लीको फोटो आउँथ्यो । हाम्रो सर्लाहीतिर पनि ब्रुस्लीको खुब चर्चा हुन्थ्यो । यही वेला आफूलाई बलवान् देखाउन ब्रुस्लीजस्तै बन्ने रहर बढ्न थाल्यो ।
ज्याकी च्यानको फ्यान विगतदेखि अहिलेसम्म
केही ठूलो भएपछि ज्याकी च्यानको फिल्म पनि हेर्न थालेँ । उनका फिल्म हेरेपछि म त खुबै प्रभावित भएँ । अहिले पनि ज्याकीको फ्यान हुँ । उनका फिल्म हेरेर धेरै कुरा सिकेँ भन्ने पनि लाग्छ । उनैबाट प्रभावित भएर तेक्वान्दो खेलेँ । तेक्वान्दोमा ब्ल्याक बेल्ट पाएँ । तर, यतिबाट मात्रै मन सन्तुष्ट भएन । मलाई ज्याकी च्यानजस्तै अलराउन्डर बन्नु थियो । त्यतिखेर मेरा थुप्रै साथी पनि ज्याकीका फ्यान थिए । साथीहरूले ‘तँ त ज्याकीजस्तै गर्न सक्छस्’ भनेर हौसाउ्ँथे । उनीजस्तै बन्ने नाममा मेरा शरीरका धेरै अंग भाँचिएका छन् ।
जब ०५० सालमा मुम्बईतिर लागेँ
०३७ सालको मेरो जन्म । ०५० मा जम्मा १३ वर्षको थिएँ । यहीवेला म चलचित्रसम्बन्धी अध्ययन गर्ने भनेर मुम्बईतिर लागेँ । त्यहाँ रहँदा चलचित्रको विषयमा अध्ययन गरेँ । मार्सल आर्ट पनि गरेकाले मुम्बईमा ‘महाराणा प्रताप’ भन्ने सिरियलमा फाइट डाइरेक्टरको असिस्टेन्टको रूपमा काम गर्ने मौका पाएँ । त्यसपछि पनि धेरै हिन्दी चलचित्रमा असिस्टेन्ट रहेर काम गरेँ । ०५१ देखि ०५८ सम्म यो क्रम चल्यो ।
पिँजडाको एक्सन आफ्नै डिजाइनमा
मुम्बईबाट काठमाडौं फर्किएपछि निर्देशक पवन मैनालीसँग भेट भयो । मैले आफ्नो क्षमता र विगतका कामबारे बताएँ । उहाँले भन्नुभयो, ‘कुनै फिल्म बनाएँ भने तिमीलाई लिन्छु ।’ त्यो भेटको झन्डै एक वर्षपछि उहाँले मलाई फोन गर्नुभयो । उहाँले भन्नुभएको थियो, ‘दिनेश भाइ, मैले एउटा फिल्म बनाउँदै छु, तिमीले अभिनय गर्नुपर्यो ।’ त्यो वेला मेरो नाम दिनेश थियो ।
मैले फिल्मको कथावस्तुबारे सोधपुछ गरेँ । उहाँले ‘पिँजडा’बारे स्पष्ट पार्नुभयो । मैले नै त्यो कथावस्तुअनुसार सात तलाबाट हामफाल्नेलगायत एक्सन सिनको डिजाइन गरेँ । मैले बनाएको डिजाइनमा पवन दाइ सहमत हुनुभयो । त्यसपछि पिँजडामा अभिनय गरेँ । पिँजडा रिलिज भएपछि चर्चा राम्रै गरी भयो । पिँजडाकै एक्सनका कारण यहाँसम्म आउन सफल भएँ ।
दिनेशबाट अनि भएँ निखिल
पिँजडा फिल्ममा काम गर्दै गर्दा नाम फेर्न मन लाग्यो । भान्जाहरूलाई एउटा नयाँ नाम जुराइदिन भनेँ । उहाँहरूले नै जुनाएको नाम ‘निखिल’ राखेँ । त्यही निखिल आजसम्म अभिनेताको हैसियतमा चिनिन पुगेको छ ।
पिँजडापछि निरन्तर एक्सन हिरो
पिँजडापछि फेरि मुम्बई गएँ । तर, दुई वर्षमै फर्किएँ । त्यसपछि ‘मायाको जाल’ र ‘शिवशक्ति’ चलचित्रमा अभिनय गरेँ । यी फिल्म पनि राम्रो चले । मप्रति दर्शकको माया बढ्दै गयो । चलचित्रमा मेरो माग पनि बढ्न थाल्यो । लामो समय नेपाली चलचित्रमा रमाएँ ।
जहाँ गएँ त्यहाँ माया पाएँ
आफूलाई भाग्यमानी नै ठान्छु । जहाँ गएँ, त्यहाँ माया पाएँ । बलिउडमा असिस्टेन्टको रूपमा काम गर्दा त्यहाँका कलाकारले कहिल्यै पनि नेपालको हो भनेर हेला गरेनन् । हुन त मेरो इन्डियन लुक्सले पनि हुन सक्छ । त्यहाँ नेपाली हुँ भन्दा पनि रमाइलो लाग्थ्यो । साथीहरूले चाहिँ ‘क्रस’ होलास् भनेर जिस्क्याउँथे । तर, मैले बढी माया त नेपाली दर्शककै पाएँ नि ! दर्शकको माया सम्झिँदा धन्य महसुस हुन्छ ।
हिरोइनसँग उस्तै सौहार्द सम्बन्ध
अभिनेत्रीहरूसँग पनि नराम्रो सम्बन्ध कहिल्यै भएन । नजिक रहेर काम गरेका करिश्मा मानन्धर, मौसमी मल्ल, रेखा थापा, निरुता सिंहलगायतसँग सौहार्द सम्बन्ध रह्यो । निरुता जीसँग पिँजडामा पहिलोपटक अभिनय गरेको थिएँ । सम्बन्ध राम्रो हुन आफ्नो स्वभाव पनि सही हुनुपर्छ भन्ने मेरो मान्यता हो । मैले कसैलाई हेप्ने, साइडमा बसेर लाइन मार्ने, जिस्क्याउने काम गरिनँ ।
जब फैलाइयो मविरुद्ध अफवाह
नेपाली चलचित्र खेलिरहँदा बीचबीचमा मुम्बईतिर नि गएँ । यही समयमा सञ्चितासँग बिहे भयो । यो वेला नानाथरी हल्ला चले । सञ्चितालाई बिहे गरेर निखिल मुम्बईतिरै भासियो, अब नेपाली चलचत्रिमा अभिनय गर्दैन भन्नेसम्मका कुरा आए । तर, यो गलत थियो ।
सञ्चितासँग बिहे गरेको वेला मुम्बई गएर बस्नु एउटा संयोग थियो । तर, त्यतिखेर मलाई नेपाली चलचित्रमा अभिनय गर्न दिक्क लागेकै भने हो । हुन्न भन्न नसक्ने बानीले गर्दा मैले धेरै दुःख पाएँ ।
धेरैजसोले थर्काउँथे, घुक्र्याउँथे, झगडा गर्न आउँथे । यो हदले सीमा नाघेपछि मैले मेरा नजिकका साथीहरूलाई ‘अब नेपाली फिल्म इन्ड्रस्ट्री छाड्दै छु’ भनेकै हो । किनभने मेरो जिन्दगीसँगको सरोकार थियो । सुपरस्टार बनेर मै हुँ भन्ने चाहना अहिले पनि ममा छैन । म यसलाई केही पनि मान्दिनँ । यो केबल मेरो काम हो । म सधैँ दर्शकको मन जित्ने कोसिस गर्छु । तर, जीवन अर्कै चिज हो । मैले पनि मेरो रोजाइअनुसारको जीवन जिउन पाउनुपर्छ । त्यो वेलाको चार वर्षमा मैले जे कुरा सिकेँ, जीवनभरका लागि सिकेँ ।
निखिल पत्तासाफ भयो पनि भने
केही समय नेपाली फिल्म उद्योग छाड्दा निखिल पत्तासाफ भयो भन्ने हल्ला पनि चल्यो । अहिले पनि कतिपय निर्देशक÷निर्मातालाई निखिल आउट भइदिए हुन्थ्यो भन्ने लागेको छ । निखिलको चलचित्र यहाँ चल्न दिनुहुँदैन भन्नेहरू पनि छन् । तर, उनीहरू सफल हुँदैनन् । म विश्वस्त छु ।
नेपाल फर्किएर ‘भैरव’ गरेपछि मेरो विश्वास थप बलियो भयो । मप्रति नेपाली दर्शकको माया धेरै छ भन्ने अझै महसुस भयो । आफ्नै निर्देशनमा निर्माण गरेको भैरवले ममा ऊर्जा पनि थप्यो । यसबाहेक ‘लुटेरा’, ‘किङ’, ‘निर्भय’, ‘राधे’लगायतमा अभिनय गरेँ । अब फेरि आफ्नै निर्देशनमा दोस्रो फिल्म बनाउँदै छु, ‘कमिटमेन्ट सिक्स्टी आवर’ । मलाई पत्तासाफ भयो भन्नेहरू गफ गर्दै जान्छन्, म काम गर्दै जान्छु ।
साभारः नयाँपत्रिका दैनिक
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2rAlolS
via IFTTT
0 comments:
Post a Comment