लण्डन । ब्रिटिश आर्मीमा गोर्खा भर्ति शुरु भएको दुई सय वर्ष नाघिसकेको छ । यो अवधिमा गोर्खाहरुले देखाएको साहस, इमान्दारीता र वीरताको प्रशंसा दुनियाँभर हुँदै आएको छ, झन बेलायतमा नहुने त कुरै भएन । गोर्खाहरुकै कारण बेलायत नेपाल सम्बन्ध सुदृढ भएको दुवै देशका अधिकारीहरुले बताउँदै आएका छन् ।
अर्को तथ्य यो पनि हो कि, गोर्खाहरु बेलायती राजदरबारको सबैभन्दा विश्वासिला सैनिक मानिन्छन् । बेलायती महारानीदेखि राजकुमारहरुले विभिन्न समारोहमा यो तथ्य उजागर गर्दै आएका छन् ।
उनीहरु आफूलाई गोर्खा सैनिकसँग रहँदा सुरक्षित महसुस हुने बताउँदै आएका छन् । गोर्खाहरुले विगत दुई सय वर्षदेखि ब्रिटिश फोर्समा संलग्न रहेर विभिन्न देशका प्रमुख द्वन्द्वमा सहभागी भइ बहादुरी र इमान्दारी देखाएका कारण राजपरिवारको नजरमा गोर्खा सैनिक सधैं प्रशंशाका पात्र बने
महारानीकाे सुरक्षामा गोर्खा
अहिले बेलायती महारानीको सुरक्षामा दुई गोर्खा खटिएका छन् । ब्रिटेनको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी एलिजावेथ द्वितीयका विश्वासिला सैनिक हुन् क्याप्टेन ललित गुरुङ (एमभिओ) र क्याप्टेन गणेश तामाङ (एमभिओ) ।
यतिखेर उनीहरु बेलायती महारानीको सुरक्षामा खटिएका छन् दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्सका रुपमा । बकिङहम प्यालेस होस् वा विभिन्न शहरमा रानी सवारी हुने समारोह, ललित र गणेशलाई रानीको गार्डिङ गर्ने जिम्मेवारी छ ।सभा समारोह र पार्टीमा महारानीसँगै हिँडेर सुरक्षा दिने, रानीको रेखदेख र काम पर्दा अगाडि उपस्थित हुने उनीहरुको जिम्मेवारी हो ।
ललित भन्छन्, ‘रानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ । रोचक के भने समारोहमा रानीसँग हिँड्दा हामी बाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।’
उनीहरु विगत ९ महिनादेखि यो जिम्मेवारीमा छन् र अब अगष्टसम्म रहन्छ यस्तो जिम्मेवारीमा । हालसम्म उनीहरु रानीको ३५ वटा औपचारिक कार्यक्रमसहित दरबारमा भएका गार्डेन पार्टी र प्यालेसबाहिर कयौं कार्यक्रममा सरिक भइसके ।
हाम्रा बाबु बाजेको विश्वासले गर्दा यस्तो जिम्मेवारी पाएका छौं, गर्व लाग्छ’, क्याप्टेनद्वय भन्छन्, ‘यस्तो जिम्मेवारी पाउनु चानचुने कुरा होइन । गोर्खा बटालियन अफिसरबाट वर्षेनी उत्कृष्ट दुई जना छान्ने क्रममा हामी परेका हौं ।’
रानी आफ्नो मात्र होइन, समस्त ब्रिगेड अफ गोर्खाजको आमा सरह भएको बताउँछन् ललित । ललितका बाजे इन्डियन आर्मीमा थिए । बाबा रिटायर्ड क्याप्टेन (क्यूजिओ) सूर्ज बहादुर गुरुङले पनि रानीलाई गार्डिङ गरेका थिए । ‘हाम्रो पुस्ताले पनि यस्तो मौका पाउँदा गर्व लाग्छ’, उनले सुनाए ।
ललितका दाई पनि ब्रिटिश आर्मीमै थिए, कलर सार्जन्टबाट अवकास लिए ।सन् १८७६ बाट दरबारले वर्षेनी दुई जना गोर्खालाई दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्स नियुक्त गर्ने प्रचलन शुरु भएको हो । पहिलो र दोश्रो विश्वयुद्धले बीचमा यो रोकिए पनि क्वीन भिक्टोरियाले सन् १९५४, ११ मार्चदेखि फेरि शुरु गरेको इतिहास छ ।
कास्कीको वारचोक गाउँबाट अहिले पोखरा माटेपानी बसाइ सरेको छ उनको परिवार । सन् १९९२ मा ब्रिटिस आर्मीमा भर्ती भएपछि ललित कोसोभो, बोस्निया, सेरालिओन र अफगास्तिान खटिइसके । अफगास्तिान युद्धमामात्र तीनपटक खटिएको उनले बताए ।
वानआरजिआरका क्याप्टेन ललितले रानीको कोहीप्रति चासो लिएर सोधखोज र ख्याल गर्ने बानी भएको बताए । गत मार्चमा रानीले दरबारमा ललितलाई मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर (एमभिओ) पदक दिने बेला सर्भिसका लागि धन्यवाद दिँदै सोधेकी थिइन्, ‘नेपालमा कस्तो छ अहिले ? स्थानीय चुनाव के हुँदैछ ?
अहिले ब्रुनाइमा रहेको वानआरजिआर यूके कहिले आउँछ ?’
‘मेरो धेरै अगाडिदेखि गोर्खासँग भावनात्मक सम्बन्ध छ । मेरो विश्वासिलो र उत्कृष्ट रोजाइको आर्मी गोर्खा हुन्’, रानीको भनाइ उद्धृत गर्दै ललितले भने ।रानी ९१ वर्ष उमेरको भएपनि ‘फिट एण्ड फाइन’ भएको बताउँछन् उनी । ‘दरबारभित्र कुनै समारोह हुँदा उहाँ झण्डै डेढ दुई घण्टासम्म लगातार उभिएर गफ गर्न सक्नुहुन्छ’,
उनले सुनाए, ‘रानी भन्दैमा घुम्ने, खाने बस्ने, सुत्ने मात्र बानी उहाँको छैन् । बिहान साढे ६ बजेतिर उठेर ब्रेकफास्ट खाएपछि निजी चिकित्सक, नर्सले स्वास्थ्य जाँच गरेपछि अफिस बसेर नियमित काम गर्नुहुन्छ महारानी ।’
रानीले बकिङहम प्यालेसभन्दा वीन्जर क्यासलमा बस्न मन पराउने उनले सुनाए । रानीको समारोह नभएका बेला ब्रिगेड अफ गोर्खाज हेडक्वाटर स्यान्डस्र्टमा कार्यरत हुन्छन् उनी ।
राजपरिवारकै प्रिय छन् गोर्खामहारानीमात्र होइन, प्रिन्स हयारी पनि गोर्खा र नेपाल अनि नेपालीसँग प्रभावित छन् । गत मार्चमा लन्डनस्थित नेपाली दूतावासमा बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष समापन समारोहमा प्रमुख आतिथ्य ग्रहण गर्दै बेलायती राजकुमार हयारीले नेपालको खुबै प्रशंसा गरे ।
गत वर्ष मार्चमा नेपाल भ्रमण गर्दा स्मृतिमा कैद भएका रोमाञ्चकारी र अविष्मरणीय क्षण साटिरहँदा उनीप्रति नेपाल र नेपालीको माया प्रष्टै झल्किएको थियो । गोर्खा सैनिकको प्रशंशा गर्न पनि छुटाएनन् उनले । नेपाल भ्रमणका क्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताउँदै ह्यारीले गोर्खा सैनिकहरुको दृढ
चरित्र कसरी बन्छ भन्ने कुरा आफूले बुझ्ने मौका पाएको उल्लेख गरेका थिए ।
आफ्ना पिता चाल्सको जस्तै ब्रिगेड अफ गोर्खाजसँग ४० वर्ष लामो सम्बन्ध नभए पनि आफूले गोर्खा सैनिकहरुसँगको सम्बन्धबाट खुशी र गर्व महसुस गर्ने गरेको हयारी बताउँछन् । राजकुमार ह्यारीले त्यतिबेला गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा पनि गरेका थिए । ह्यारीले अफगानिस्तानमा गोर्खाहरुसँगै बसेर
पिरो खसीको मासु खाएको क्षण होस् वा संगै अफगानिस्तानमा लडेको क्षण,
समारोहमा यो प्रसंग दोहोर्याइरन्छन् उनी । हयारी आफू मात्र गोर्खा सैनिकसँग प्रभावित नभइ बेलायती रानी र नागरिकहरुले समेत सम्मान गर्ने गरेको प्रसंङ्ग पनि उठान गर्छन् ।
हयारीको मानसपटलबाट नेपालको अन्नपूर्ण हिमश्रृङ्खला तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै मेटिने छैन् । नेपाल जाँदा राजकुमार ह्यारीले उत्तरी गोर्खाको लापु गाउँ विकास समितिस्थित प्रभात किरण निम्न माध्यामिक विद्यालयको पुनर्निर्माणमा सघाएका थिए ।
बेलायती महारानी एलिजावेथ द्वितीय र प्रिन्स फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए । राजकुमारी डायना, प्रिन्स चाल्र्स पनि नेपाल पुगिसकेका छन् ।
उता, गोर्खा सैनिकहरुलाई हालै बेलायती राजदरबारमा विशेष पदक दिइएबाट पनि दरबारको गोर्खाप्रति विश्वास र माया कति छ स्पष्ट झल्कन्छ । ६८ वर्षीय प्रिन्स चाल्र्स र उनका छोरा ३२ वर्षीय प्रिन्स हयारीको बाहुलीबाट पदक ग्रहण गर्दा गोर्खाहरु निकै उत्साहित देखिन्थे र आफूलाई भाग्यमानी पनि ठान्दै थिए ।
गत वर्ष अफगानिस्तानको राजधानी काबुलमा शान्ति सुरक्षार्थ खटिएका रोयल गोर्खा राइफल्स सेकेन्ड बटालियन (टुआरजिआर) का करिब डेढ सय गोर्खा सैनिकलाई हयारी र चाल्र्सले विशेष सम्मान ‘अपरेशनल सर्भिस मेडल’ प्रदान गरेपछि गोर्खाहरु आफूलाई भाग्यमानी सम्झन्छन् ।
गत वर्ष गणपति लेफ्टिनेन्ट कर्णेल जेसी मुरेको नेतृत्वमा खटिएको दोस्रो गोर्खा बटालियनले मिसनको प्रारम्भदेखि नै नेटो संगठनबाट त्यहाँ खटिएका विभिन्न प्रतिनिधिलाई सुरक्षा प्रदान गरेको थियो ।
आठ महिना लामो ‘अपरेसन टोरल’का लागि गोर्खा काबुल खटिएका थिए । ती गोर्खाहरुले नन कम्ब्याट रोलमा अफगान मन्त्री र वरिष्ठ अधिकारीहरुलाई सुरक्षा सल्लाह दिन र अफगान नेशनल आर्मी अफिसर्स एकेडेमीमा सुपरिवेक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काबुल सुरक्षा बलका लागि बटालियनको भूमिका महत्वपूर्ण थियो ।
त्यतिबेला सम्बोधनका क्रममा राजकुमार चाल्र्सले गोर्खा सैनिकहरुले बेलायती राजमुकुटका लागि सेवा गरेको दुई सय वर्ष पुगेको स्मरण गर्दै अझै निरन्तर सेवा गरिरहन आग्रह गरेका थिए । उनले आफू धेरै वर्ष अघि नेपाल गएको बताउँदै हिमालको सम्झना आइरहेको समेत सम्झिए ।
गोर्खा सैनिकमा १५ वर्ष कर्तव्यनिष्ठ भई उदाहरणीय काम गरेकामा राजकुमार हयारीले धन्यवाद दिँदै भनेका थिए, ‘सैनिक लगनशिलता, मिहिनेत, अनुशासन, कर्तव्यपरायण सैनिक जीवन अति नै महत्वपूर्ण हुन्छ ।’
ब्रिगेड अफ गोर्खाजमा हाल करिब तीन हजार पाँच सय गोर्खा सैनिक छन् । सेवारत र भूपू गोर्खाहरु बेलायती जनताको मनमा बस्न सफल छन् ।
source :- nepalipatra
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2r88UQW
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.