Photo of Milford Sound in New Zealand

वैशाख २९, २०७४- कोचाबखारी–२ लोखरमका दिनेश दास र ममतादेवीकी ४ वर्षीया छोरी जीवछीको शरीरका हड्डी बाहिरबाटै प्रस्ट देखिन्छन् । शरीरका अंगहरूमा मासु लागेको देखिँदैन । खाना र पौष्टिक आहार नपाउँदा उनको अवस्था यस्तो भएको हो ।

छोरी जीवनमरणको दोसाँधमा पुगेपछि दिनेशले उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको पोषण पुन:स्थापना गृहमा भर्ना गराए ।

४ वर्षीया जीवछीको तौल अहिले साढे ४ किलो मात्र छ । ‘यस्तो कुपोषणले ग्रसित बच्चा पोषणगृहमा आएको पहिलोपटक हो,’ गृहकी प्रबन्धक रश्मी झाले भनिन्, ‘बालिकाको अवस्था चिन्ताजनक छ ।’

यसअघि ६ महिना सोही गाउँकै १३ महिने नीलमकुमारी मण्डललाई पनि गृहमा भर्ना गरिएको थियो । उनीबारे समाचार सार्वजनिक भएपछि सहयोग जुटेको थियो । उपचारपछि घर फर्किइसकेकी छन् । कुपोषणले ग्रसित डाढाका शम्भु रामको उपचार नपाउँदा ६ महिनाअघि मृत्यु भएको थियो ।

पछिल्लोपटक ल्याइएकी बालिका जीवछी जन्मिदा स्वस्थ रहेको दिनेशले बताए । ‘जन्मिदा स्वस्थ नै थिइन्,’ उनले भने, ‘तर २ वर्ष भएपछि दुब्लाउँदै गइन् र आज हाडै देखिने अवस्था आयो ।’

दिनेश र ममताको चौथो सन्तान हुन्, जीवछी । यसअघि उनका ४ सन्तानको जन्मिँदै मृत्यु भइसकेको छ । जीवछी स्वस्थ जन्मिएपछि दिनेश र ममताले अब आफ्नो वंश अघि बढ्ने भन्दै खुसी मनाएका थिए । छोरी जन्मिएको २ वर्षमै यस्तो अवस्थामा पुगेपछि दिनेश उपचार खर्च जुटाउन ऋण काढेर मलेसिया गएका थिए ।

‘म मलेसियामा कमाउँदै ऋण तिर्दै घरमा पैसा पठाउँथें,’ उनले भने, ‘मेरी पत्नी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कान्ति बाल अस्पताल काठमाडौंलगायत सबैतिर उपचार गराउँदै हिँडिन् तर निको भएन ।’

आर्थिक अभावमा अब छोरीको उपचार गर्न समस्या भएको उनले सुनाए । ‘घरबाहेक खेतीपाती छैन्, मिहेनत मजदुरी गरी दुई छाक टार्छु,’ दिनेशले भने, ‘पेट पाल्नै समस्या भएपछि कहाँबाट छोरीको उपचार गर्नु ?’ घरको अवस्थाका कारण अब विदेश कमाउन जान सक्ने अवस्थामा नरहेको उनले बताए । चौथो सन्तान पनि उपचार अभावमा मृत्युको मुखमा पुगेकाले सघाउन उनले संघ–संस्था र सहगोगी गुहारेका छन् ।

पोषणगृह प्रबन्धक झाले भनिन्, ‘उनलाई अति सघन तरिकाले उपचार गर्नुका साथै पौष्टिक खानपिनको व्यवस्थापन गर्न सके मात्र बचाउन सकिन्छ ।’

पोषणगृहमा ल्याएपछि दैनिक पौष्टिक आहार र उपचारको व्यवस्था मिलाइएको छ । जीवछी मात्र होइन जिल्लामा यसअघि पनि धेरै बालबालिका कुपोषणको सिकार भइसकेका छन् । ग्रामीण क्षेत्रमा अझै पनि ठूलो संख्यामा कुपोषणले ग्रसित बालबालिका रहे पनि चेतना अभावमा उनीहरूलाई अस्पताल वा पोषणगृहसम्म ल्याउन सकिएको छैन ।

चेतना अभावले कुपोषण
भोजपुर– सदरमुकाम भोजपुर नगरपालिका–४ सिद्धेश्वर मान्द्रेका निर्मला र प्रेमकुमार राउतको २०६८ मा विवाह भयो । परिवारको आर्थिक स्थिति कमजोर भएकाले विवाहपछि रोजगारका लागि प्रेम बिदेसिए ।

उनी फर्किए पछि निर्मला गर्भवती भइन् । ०७२ माघ २ गते पहिलो सन्तानका रूपमा सुदीक्षा जन्माइन् । परिवारमा खुसी छायो । सामान्य अवस्थामा जन्मिएकी छोरी दिनदिनै असामान्य बन्दै गएपछि त्यो खुसी धेरै समय टिक्न सकेन् ।

सुदीक्षा १५ महिनाकी भइन् । शरीर र करङ सुक्दै गएको प्रस्टै देखिन्छ । शरीर कमजोर र सुस्त छ । टाउको ठूलो छ । पेट फुलेको छ । उनको तौल ५ किलो मात्रै छ । सुदीक्षा तेस्रो महिनाबाट विस्तारै सुस्त हुँदै आएकी आमा निर्मलाले बताइन् ।

स्वास्थ्य झन् कमजोर हुँदै गएपछि उनीहरूले धामीझाँक्री लगाएर गाउँमै घरेलु उपचार गराए । गाउँलेले जागित्रा लागेको भन्दै धामी लाउन सल्लाह दिन्थे । तर, उपचारका लागि स्वास्थ्य संस्था जानुपर्छ भन्ने हेक्का निर्मला र उनको परिवारलाई भएन ।

छोरीको स्वास्थ्य अवस्था बिग्रँदै गएकोमा आमा आत्तिएकी छन् । ‘अरूका सँगैका नानीहरू छमछमी खेल्छन्, यसलाई के भएको हो, जति स्याहार गरे पनि हुन्न,’ आँसु झार्दै निर्मलाले भनिन् ।

उनले एक महिनाअघि उपचारका लागि छोरी च्यापेर अस्पताल पुगिन् । उनमा कुपोषणसँगै अन्य मानसिक रोग रहेकाले नोबेल अस्पतालमा रिफर गरियो । नोबेलमा समेत उपचार सम्भव नभएपछि भारत लैजान
सुझाव दिइयो ।

छोरीको अवस्था देखेर हार खाएकी निर्मलाले भारत लगेर उपचार गर्न नसक्ने भएपछि विदेशमा रहेका पतिसँग सल्लाह गरी बिनाउपचारै घर फर्काएकी छन् । बिदेसिएका पतिको कमाइले दुई छाक खान पुगे पनि उपचार गर्नसक्ने अवस्था नरहेको निर्मला बताउँछिन् ।

उनका अनुसार छोरीलाई जति नै पोषिलो खाना खुवाउन खोजे पनि खानै नमान्ने र खुवाएको पनि नपच्ने समस्या छ ।

ओछयानमा सुताएकी छोरी घण्टौं कालोनीलो देखिन्छिन् । श्वासप्रश्वास बन्द भएपछि परिवारले माया मारिसकेका हुन्छन् । तर, धेरै समयपछि पुन: पहिलेकै अवस्थामा फर्किन्छिन् ।

यस्तो असामान्य अवस्थाले परिवारमा निराशा छाएको छ । पतिले विदेशबाट उपचार गर्न त भन्छन्, धेरै खर्च लाग्ने भएपछि आँट्न नसकेको निर्मला बताउँछिन् । ‘आफ्ना सन्तानको माया आमाबाबुलाई हुन्न र ? उपचार गर्ने खर्च कसरी जुटाउनु ?’ उनले भनिन् ।

अशिक्षा, गरिबी, चेतना अभावले जिल्लामा सदीक्षाजस्ता दर्जनौं बालबालिका कुपोषणबाट पीडित छन् । उनीहरूलाई सरकारी स्वास्थ्य संस्थाले उपचारमा सहुलियत, परामर्श तथा सहयोग गर्न सक्छन् ।

तर यहाँका कुपोषित बालबालिकाबारे सरकारी स्वास्थ्य संस्था नै अनभिज्ञ छन् । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक एवं सूचना अधिकारी राजु श्रेष्ठले एकिन तथ्यांक नभए पनि कुपोषणले दुर्गम बस्तीका बालबालिका बढी पीडित रहेको बताए । कान्तिपुर

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pFh2o1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top