जेस्ठ २३। दुई बर्षअघि हलचोकमा फुटबल खेल्दा सावित्रा भण्डारीले रंगशालाको पूर्वपट्टी महिला फुटबल स्टार जमुना गुरुङको ठूलो पोस्टर देखेकी थिइन् । उनी सोच्छिन्, ‘मेरो पनि यस्तैगरी पोष्टर टाँगिने दिन कहिले आउला ?’
सावित्रालाई सशस्त्र प्रहरीको एपिएफ क्लवले १६ बर्षको उमेरमै अनुबन्ध गरेको थियो । २०७१ सालको साउनतिर प्रशिक्षणको क्रममा उनलाई हलचोकको मैदान बाहिर राखिएको जमुनाको पोस्टरले निक्कै लोभ्याएको थियो ।
दुर्इ वर्षको अन्तरालमा साबित्रा नेपाली महिला फुटबल टोलीकी नम्बर एक स्ट्राइकर बनिसकेकी छिन् । घाइते भएपछि फुटबलबाट बाहिर रहेकी जमुनाको अभाव उनले खट्किन दिएकी छैनन् । अहिले उनको खेललाई जमुनासँग तुलना गरिन्छ ।
यसरी सिकिन् फुटबल
लमजुङको सिम्पानी ७ पाम्चोककी १८ बर्षीया सावित्रा सानैदेखि खेलकुदमा रुची राख्थिन् । फुटबल खेल्न गाउँमा मैदानको समस्या थियो । त्यसमा पनि महिला फुटबल खेलाडी नै भेटिदैनथे । उनले एथ्लेटिक्स र भलिबलबाट खेलकूदमा पाइला राखिन् । फुटबल खेल्न थालेको त ३/४ बर्षमात्र भयो ।
उनी एथ्लेटिक्स र भलिबलमा पनि अब्बल थिइन् । बिद्यालयस्तरमा उनी भलिबलको राम्रो खेलाडी थिइन् । २०७० सालको राष्ट्रपति रनिङ शिल्डमा जिल्ला र क्षेत्रबाट छनौट हुँदै काठमाडाैंमा भएको प्रतिस्पर्धामा उनको टोलीले काश्य जितेको थियो ।
त्यस्तै एथ्लेटिक्सको १०० र २०० मिटर दौडकी खेलाडी हुन् भण्डारी । एथ्लेटिक्सबाट पनि उनले जिल्ला र क्षेत्रीय स्तरमा थुप्रै पदक जितेकी छन् । भलिबलमा केन्द्रित रहेकाले केन्द्रबाट एथ्लेटिक्समा उनको नतिजा राम्रो भएन ।
उनको परिवार खेलाडी पृष्ठभूमीको होइन । सुरुवातमा गाउँकै दाइहरु तथा मामासँग खेल्थिन् । गाउँका मिन्टासी बिक एथ्लेटिक्स खेलाडी थिए । उनले काश्य पदक जितेर गाउँ फर्कँदा पाएको सम्मानले सावित्रा प्रभावित थिइन् र सोच्ने गर्थिन ‘म पनि खेलकुदमा लागेर यस्तै पदक जित्नेछु र सम्मान पाउनेछु ।’ अहिले उनको सपना साकार भएको छ ।
खेलकुदमा लाग्न परिवारबाट त्यति सहयोग नमिलेपनि अहिले पाएको सफलताबाट सबैभन्दा धेरै खुसी उनकै परिवार छ । उनी भन्छिन्, ‘मम्मीले खेलमा भन्दा पढाइमा जोड गर्नुहुन्थ्यो । उहाँले ठीकै भन्नुभएको थियो तर मेरो लक्ष्य भने खेलाडी नै बन्नु थियो । कतिले त केटी मान्छे खेलकुदमा लागेर केहि गर्न सक्दैन भन्थे । तर धेरैजसोले राष्ट्रिय स्तरका खेलाडीहरु जमुना गुरुङ, अनु लामा लगायतको नाम लिएर हौसला दिनुहुन्थ्यो ।’
चार दिदीबहिनी र दुई भाइहरुमध्ये माइली हुन् सावित्रा । उनी सानैदेखि ‘टमब्वाइ’ छविकी थिइन् । कपाल पाल्न कहिल्यै मन लागेन उनलाई । अहिले पनि उनले व्वाइज कट काटेकी छन् । सावित्रा भन्छिन्, ‘सानोमा बिदेशी खेलाडीहरुलाई टिभीमा देख्दा उनीहरुको जस्तै ‘हेयर स्टाइल’ बनाउन मन लाग्थ्यो ।’ अहिले उनको मनपर्ने बिदेशी खेलाडी क्रिष्टियानो रोनाल्डो हुन्, सावित्राको हेयर स्टाइल पनि लगभग रोनाल्डोकै जस्तो छ ।
गाउँमा फुटबल खेल्न खेलाडी नै नभेटिने समस्या थियो । बिशेषगरी फुटबलका लागि उनले आफ्नै सक्रियतामा टोली बनाउथिन् गाउँस्तरमा दशै तिहार लगायतका चाडपर्वमा फुटबल खेल्थिन् । कहिलेकाहीँ त केटाहरुको टोलीमा मिसिएर फुटबल खेल्ने धोको पूरा गर्थिन सावित्रा ।
एपिएफमा आगमन
२०७० सालको अन्त्यतिर एउटा गाउँ स्तरको प्रतियोगितामा खेल्दै थिइन् सावित्रा भण्डारी । त्यतिबेला उनको गाउँकै शुक्र तामाङ एन्फाको सहायक रेफ्री थिए । उनी पनि खेल हेर्न पुगेका थिए ।
पहिलो हेराइमै सावित्राको खेलबाट शुक्र प्रभावित भए । खेलपछि उनी नजिक आएर भने, ‘तिमी त निक्कै राम्रो खेल्दी रहेछौ । काठमाडौं गएर खेल्ने हो ?’ त्यतिबेला सावित्रा एसएलसी दिएर बसेकी थिइन् । काठमाडौं गएर खेल्न पाए किन छाड्थिन् ।
शुक्रले एपीएफमा आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै कुरा चलाउने आश्वासन दिए । नभन्दै दुई महिनापछि शुक्रको फोन आयो । उनले सावित्रालाई काठमाडौं बोलाए । एपिएफका अफिसियलसँग कुरा गरेर उनले सावित्रालाई खेल्ने बन्दोबस्त मिलाइसकेका रहेछन् ।
उनी भन्छिन्, ‘शुक्रदाइको कारणले मैले आफ्नो क्षमता सबैसामु देखाउन पाएँ ।’ २०७१ साल साउनमा उनको एपीएफमा सम्झौता भयो । त्यसपछि उनले फुटबलको व्यवसायीक पक्ष बुझ्न थालिन् । गत फागुनदेखि उनी एफिएफको स्थायी जागिरे भएकी छन् । केहि समयपछि तालिम लिन जाने योजना रहेको उनले सुनाइन् ।
एपीएफमा आवद्ध भएपछि उनको नियमित प्रशिक्षण सुरु भयो । प्रशिक्षणले खेलकलामा निखार आयो । छोटो समयमा नै उनले एपीएफमा आफूलाई महिला फुटबल स्ट्राइकरको रुपमा स्थापित गर्न सफल भइन् ।’
राष्ट्रिय टोलीमा छनौट
सावित्रा २०७१ साउनमा एपीएफमा आवद्ध भएकी हुन् । त्यहि बर्ष कार्तिकमा पाकिस्तानमा महिला साफ च्याम्पियनसीप हुँदै थियो । त्यसका लागि प्रारम्भिक टोलीमा उनको नाम पनि घोषणा भयो । उनको राष्ट्रिय टोलीबाट खेल्ने सपना छोटो समयमै पूरा भयो । उनको उत्कृष्ट खेलकलालाई चिनेर राष्ट्रिय टोलीका प्रशिक्षक ध्रुव केसीले प्रतियोगितामा उनलाई समावेश गरेका थिए । त्यसयता उनी राष्ट्रिय टोलीमा निरन्तर छिन् ।
महिला राष्ट्रिय खेलाडीका रुपमा साफ च्याम्पियनसीप खेल्न उनीसहितको नेपाली टोली पाकिस्तान पुग्यो । महिला साफ च्याम्पियनसीपमा माल्दिभ्सबिरुद्धको खेल मार्फत उनले अन्तर्राष्ट्रिय डेब्यु गरेकी हुन् ।
प्रतियोगितामा नेपालले खेलेको पहिलो खेलमा उनी ८८ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । ५ मिनेटमा के चमत्कार गर्न सक्थिन् । त्यसपछि घरेलु टोली पाकिस्तानसँग नेपालको भीडन्त थियो । पाकिस्तानबिरुद्धको खेलमा उनी ८४औं मिनेटमा मैदान छिरेकी थिइन् । ८८ औं मिनेटमा उनको खुट्टाबाट निस्केको बलले जालि चुम्न सफल भयो । त्यही उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । ‘पहिलो गोल गर्दाको त्यो क्षण सम्झिँदा अहिले पनि रोमाञ्चित हुन्छु,’ सावित्रा भन्छिन् ।
त्यस प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । उपाधि जित्न नसकेकोमा अहिले नि चुकचुक लाग्छ उनलाई ।
गत फागुनमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद अन्तर्ग महिला फुटबलमा पनि नेपालले रजत जित्यो । प्रतियोगिताको सुरुवात उत्कृष्ट भए पनि पुरानै रोग बल्झिएको थियो । समूहचरणमा अपराजित रहेको नेपाल फाइनलमा भारतसँग चुक्यो । समूहचरणमा श्रीलंकाबिरुद्धको खेलमा सावित्राले दुई गोल गरिन् ।
भारतबिरुद्धको फाइनलबारे उनी भन्छिन्, ‘भारतसँगको फाइनलमा हाम्रो खेलस्तर पहिलेको जस्तो रहेन । हामीलाई रंगशालामा समर्थकको अभाव महसुस गरेँ मैले । घरेलु समर्थकका अगाडि हामी नर्भस भयौं । हाम्रो पुरुष टोलीपनि गुवहाटीमा थियो । हामीले सिलोङमा खेलेका हौं । उनीहरुको हौसलाको पनि अभाव महशुस भयो । फाइनलमा हाम्रो टोलीका खेलाडीबीच राम्रो तालमेल बनेन र हामी भारतसँग फेरि पराजित हुन पुग्यौं ।’
प्रतियोगिताका सबै खेलमा उनी सुरुवाती टोलीमा थिइन् ।
प्रतियोगिताका सबै खेलमा उनी सुरुवाती टोलीमा थिइन् ।
साफ च्याम्पियनसीप जित्ने धोको
सावित्राले राष्ट्रिय टोलीबाट खेल्न थालेको दुई बर्ष पनि पुगेको छैन । उनी १८ बर्षकी मात्र भइन् । राष्ट्रिय टोलीबाट खेल्ने उनको ठूलो लक्ष्य थियो । त्यो पूरा भइसकेको छ । अब उनको लक्ष्य पनि बढ्दै गएको छ ।
उनको सपना छ नेपालको महिला टोलीलाई साफ च्याम्पियनसीप जिताउने । सावित्रा भन्छिन् ‘मेरै खेलजीवनमा साफ च्याम्पियनको उपाधि उचाल्न चाहन्छु । मलाई विश्वास छ, यो त्यति टाढा छैन ।’ हुन पनि नेपाललाई दक्षिण एशियाली स्तरको प्रतियोगितामा भारतमात्र बाधक बन्ने गरेको छ ।
राष्ट्रिय लिगको सफलता
यसबर्षको महिला राष्ट्रिय लिगमा सबैभन्दा धेरै चर्चा कमाउने खेलाडी हुन् सावित्रा । उत्कृष्ट फरवार्डको उपाधिबाट सम्मानित भएकी उनमा प्रशिक्षकहरुले भविश्यको एक उत्कृष्ट महिला स्ट्राइकरको लक्षण देखिसकेका छन् ।
नेपाली महिला टोलीका प्रशिक्षक ध्रुव केसीका अनुसार उनी सर्बगुणसम्पन्न खेलाडी हुन् । चोटले नसताएको खण्डमा उनले नेपाली राष्ट्रिय टोलीमा कीर्तिमानी प्रदर्शन गर्न सक्ने क्षमता राख्छिन् ।
राष्ट्रिय महिला लिगको उपाधि जित्नु एपिएफको पूरा टोलीको एकमात्र लक्ष्य थियो । तर त्यो हुन सकेन । सावित्रा भन्छिन्, ‘म अत्यन्तै आशावादी थिएँ । व्यक्तिगततर्फ मैले उत्कृष्ट स्ट्राइकरको उपाधि पाएँ । यसमा म सन्तुष्ट त छु । तर खल्लो चाहीँ त्यतिबेला लाग्दो रहेछ जतिबेला मेरो टोलीले लिगको उपाधि जित्न सक्दैन ।
टिम गेममा सबैले उत्कृष्ट खेलेपछि मात्रै उत्कृष्ट नतिजा निस्कने हो । उनले त्यो राम्ररी बुझेकी छन् । यस बर्षको लिग पुलिसले उछिट्यायो । तीन विभागीय टोलीबीच समान अंक भएपछि गोलअन्तर र हेड टु हेडको आधारमा बिजेताको छिनोफानो भएको थियो ।
सावित्राले प्रत्येक खेलमा गोल गरिन् । तीन बिभागीय र पाँच बिकासक्षेत्र सम्मिलित टोलीमध्ये उनले पूर्वाञ्चलको टोलीबिरुद्ध एकै खेलमा ८ गोल गरिन् । उनको क्षमता मापन गर्न यही नै काफी हुन्छ ।
उत्कृष्ट स्ट्राइकर भएपछि समर्थक तथा विभागका सिनियर खेलाडीहरु र प्रशिक्षकहरुको हौसलाले उनी उत्साहित छिन् । लमजुङस्थित गाउँमा पनि उनको छुट्टै पहिचान बनेको छ ।
महिला र पुरुषलाई समान सुविधा होस्
अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउँछ । पुरुष टोलीका खेलाडीले मासिक १५ हजार पाउँछन् । महिला टोलीका खेलाडीले भने मासिक ७ हजार मात्र पाउँछन् । एन्फाको यही ब्यबहार सावित्रालाई मन परेको छैन । पुरुष र महिलालाई सम्मानजनक सुविधा हुनुपर्ने उनको तर्क छ ।
तलवमात्र होइन अन्य सुविधामा महिला खेलाडीलाई बिभेद छ । उनी भन्छिन्, ‘पुरुषको ठूला प्रतियोगिता नहुँदा मैत्रिपूर्ण खेलको आयोजना गरिन्छ र टोलीलाई व्यस्त बनाइन्छ । तर हामीले अन्तर्राष्ट्रिय खेल खेल्न बर्षौं कुर्नुपर्छ ।’
‘खेलाडीको स्तर बढ्ने भनेको निरन्तरको म्याच एक्स्पोजरले हो । तर महिला टोलीलाई घरेलु या अन्तर्राष्ट्रिय दुवैतर्फ प्रतियोगिता सीमितमात्र छन् । देशैभर पुरुषका नकआउट प्रतियोगिता भइरहेका हुन्छन्, तर तपाईले सुन्नुभएको छ महिलाको प्रतियोगिता ? फरक यहीँनेर छ ।’
दक्षिण एशियालीका टोलीहरुमा नेपाल उत्कृष्ट टोलीको रुपमा गनिन्छ । तर सवित्राको बिचारमा नेपालको टोली जहाँको तहीँ छ । ‘हामी चारबर्ष अघि पनि भारतसँग फाइनल खेल्थ्यौं र हार्थ्याैं, आजसम्म पनि भारत नै हाम्रो बाधक हो । तर अन्य टोलीहरु पनि उत्कृष्ट भएर आएका छन् । यस्तोमा हामीले पनि सोच्नुपर्छ,’ उनले भनिन् ।
पढाईको चिन्ता
खेलकुदमा लागेर पढाइमा सोचेजस्तो राम्रो गर्न नसकेकोमा सावित्रालाई दुख लागेको छ । उनी १२ कक्षामा अध्ययनरन छिन् । प्रशिक्षण र प्रतियोगितामै व्यस्त हुनुपरेकाले उनी परीक्षा दिनमात्र जान्छिन् ।
लमजुङको खुदीस्थित अमर उच्च माविबाट उनले उच्चमाध्यमिक शिक्षा पढिरहेकी छन् । त्यही बिद्यालयबाट उनले एसएलसी उत्तिर्ण गरेकी थिइन् ।
‘आठ कक्षासम्म म पढाइमा अब्बल थिएँ । कक्षामा सधै दोस्रो हुन्थेँ । माध्यमिक तहमा आएपछि खेलकुदमा बढि केन्त रहेकाले पढाइ खस्कन थाल्यो ।’ उनी भन्छिन्, ‘सबै कुरामा सफलता खोजेर कहाँ पाइन्छ र ?’
from ARENA http://ift.tt/1Xto1PN
via IFTTT
0 comments:
Post a Comment