दाँत स्वास्थ्य र सुन्दरता दुइटैका लागि जरुरी कुरा हो । स्वास्थ्यमा भने खानेकुरा चपाउन दाँत चाहिन्छ । हामीले खाएको खानेकुरा दाँतले चपाउने र त्यसलाई पाचन प्रणालीले पचाउने काम गर्छ । तर, दाँत नभएर खानेकुरा चपाउन सकिएन भने त्यसमा भएको पोषण शरीरले लिन सक्दैन । त्यसैले दाँत मानव शरीरको महत्वपूर्ण पक्ष हो । हामीले दातको हेरचाह गर्न सक्यौँ भने अरु धेरै रोगको जोखिम र खतराको पनि सहजै सामना गर्न सकिन्छ ।
दाँत सौन्दर्यको दृष्टिकोणले पनि महत्वपूर्ण छ । यसले आफूले गर्ने नियमित कामबाहेक मानव शरीरको प्रमुख भाग अनुहारको सौन्दर्य बढाउँछ । मानिसको दाँतमध्ये कुकुर दाँतको समूहले अनुहारको अगाडिको मुहुडा सुन्दर बनाउने काम गर्छ । हामीले कीरा लागेमा अरु दाँत झिके पनि अगाडिको मुहुडाको दाँत सकेसम्म नझिक्न सल्लाह दिन्छौँ । अगाडिको मुहुडाको दाँत झिकिए मानिस उमेरभन्दा पनि बूढो देखिने हुन्छ ।
दाँतको हेरचाह
दाँत स्वस्थ बनाउन दिनमा दुईपटक ब्रस गर्नुपर्छ । धेरैलाई दाँत कमजोर हुन्छ भन्ने डरले चकलेट खानु हँुदैन भन्ने भ्रम छ, जुन वास्तवमा गलत हो । खान नहुने भए त्यो खाद्य पदार्थ किन बन्थ्यो होला र ? तसर्थ खान नहुने हैन, खाएपछि दाँत सफा गर्नुपर्छ । ठिक्क मात्रामा चकलेट खाने र त्यसपछि दाँत सफा गर्दा खासै फरक पर्दैन ।
खाना खाइसकेपछि दाँतमा खानेकुरा अड्किन दिनु भएन । साँझ सुत्नुअघि मुखमा पर्नुपर्ने अन्तिम चिज पानी हुनुपर्छ । अर्थात्, सुत्ने बेलामा मुखमा खाद्यान्न वा अरु पदार्थ अड्किनु र त्यसको अवशेष रहनु ठीक होइन । सुत्नुअघि खाना, चकलेटलगायत जे खा एपनि अन्त्यमा ब्रस गरेर पानी पिउनुपर्छ ।
कहिलेदेखि दाँतको ख्याल गर्ने भनेर मानिसहरु झुक्किन सक्छन् । जतिबेलादेखि बालबालिकामा दाँत उम्रिन्छ, त्यतिबेलादेखि नै दाँतको हेरचाह गर्न थाल्नुपर्छ । कोही बालबालिकाको जन्मिँदै दाँत उम्रिएको हुन्छ, जसलाई हाम्रो सामाजिक अन्धविश्वासले नकारात्मक मान्छ । तर, चिकित्सकीय दृष्टिकोणबाट हेर्दा यसले कुनै खराबी गर्दैन र आत्तिनुपर्ने कारण छैन ।
कसरी बिग्रन्छ दाँत ?
नेपाली समाजमा बालबालिकाको हेरचाहदेखि नै एउटा समस्या बारम्बार देखिन्छ । आमाले बच्चालाई दूध खुवाउँदै सुताउने चलन हुन्छ । त्यो निकै खराब बानी हो, किनकि दूधमा अत्यधिक मात्रामा अम्लीय तत्व हुन्छ, जसले दाँतमा कीरा लाग्ने खतरा हुन्छ । त्यसैगरी, वयस्क मानिसहरुले पनि सुत्ने बेलामा दुध पिउने चलन हुन्छ । यो बानी पनि दाँतका लागि ठीक होइन । त्यसैले सुत्नुअघि जे सुकै खानेकुरा खाए पनि कुल्ला गर्नुपर्छ र अन्त्यमा पानी पिएर सुत्दा दाँतको सुरक्षा हुन्छ ।
बेलुका सुत्नुभन्दा अगाडि दाँत माझ्नु अनिवार्य छ । किनभने रातभर हामी केही गरिँदैन । साँझ सुत्ने क्रममा हामीले खाएका खानाका अवशेष त्यहीँ रहने र रातभरमा त्यसमा एसिड फर्मेसन भएर ब्याक्टेरियाका लागि उपयुक्त वातावरण बन्छ र संक्रमण हुन सक्छ । दिँउसो पनि यस्तै हो तर दिनभर मानिस सक्रिय भएको हुन्छ । पानीलगायत केही खाने, मुख चलाउने लगायतका काम हुन्छन् । तर, राती मानिस निष्क्रिय हुने भएकाले पनि सुत्नुअघि ब्रस गर्नु र पानी पिउनु जरुरी छ ।
ब्रस गर्ने तरिका
बिहान पनि ब्रस गर्नुपर्छ तर उठ्नेबित्तिकै गर्नु जरुरी छैन । राती ब्रस गरेर सुतेको मानिसले बिहानको खाना खाएर ब्रस गर्दा पनि खासै फरक पर्दैन । दाँत माझ्दा कस्तो ब्रस प्रयोग गर्ने भनेर धेरै मानिसमा अलमल भएको देखिन्छ । यसमा दुईखालको दृष्टिकोण छ, कसैले नरम प्रयोग गर्नुपर्छ भन्छन्, कसैले कडा । तर, साह्रो कडा ब्रस भने प्रयोग गर्नु हुदैन । ब्रस प्रयोग गर्दा ४५ डिग्रीको कोणमा घुमाएर दात माझ्नुपर्छ । दाँत माझेपछि मुख ‘फ्लस’ गर्नुपर्छ । तर, त्यति गर्दा पनि बाँकी रहेको चीज कोट्याएर फाल्नु हँुदैन । हरेक ६ महिनादेखि एक वर्षको बीचमा दन्त विशेषज्ञलाई आफ्नो दाँत देखाउनुपर्छ । र, त्यही क्रममा उसको दाँत सफा गर्नुपर्ने छ भने दन्त विशेषज्ञले बाँकी सल्लाह दिन्छन् ।
कडा ब्रसले जबर्जस्ती दाँत माझियो भने दाँत र गिँजाको बीचको भाग असर पर्छ, जसले गर्दा ‘सिरिङसिरिङ’ हुने समस्या देखिन्छ । यो आफ्नै व्यवहारका कारण अलि तातो, चिसो वा हावा बहँदा पनि सिरिङसिरिङ हुन्छ । अरु कारण नभई ‘ब्रसिङ टेक्निक’ नमिलेर नै हामीले दुःख पाउने हुन्छ ।
नियमित दात जचाऔँ
नेपालीमा देखिएको अर्को साझा समस्या हो, जबसम्म दाँत दुख्दैन, तबसम्म उनीहरु दन्त विशेषज्ञकहाँ आउँदै आउँदैनन्, दुःखेपछि मात्रै दौडिने चलन छ । नियमित रुपमा दाँत परीक्षण गर्नेहरु १० प्रतिशतभन्दा पनि कम होलान् । त्यसपछि उनीहरु भन्न थाल्छन्, ‘दाँतको उपचार एकदमै खर्चिलो छ ।’ तर, त्यस्तो महँगो छैन । रोग नलाग्दै नियमित रुपमा दाँतको परीक्षण गरिरहने हो भने उपचार महँगो र खर्चिलो छैन । त्यस क्रममा दाँतको नियमित सरसफाइ हुन्छ भने कहीँ कीराले खान सुरु गरेको भए सामान्य प्रकारको फिलिङ गर्छाैं ।
कीराले दाँत खाएर खाल्डो परेर जब खानेकुरा अड्किन थाल्छ, अनि मानिसहरु उपचारका लागि क्लिनिकमा आउँछन् । त्यतिबेला क्लिनिङ, फिलिङलगायतका उपाय केही बाँकी हँुदैन, सोझै ‘रुट कनाल’ गर्नुपर्छ । जरैदेखि उपचार गर्ने, चारदेखि ६ पटक क्लिनिक धाउने, अनि दाँतमा क्याप हाल्नेलगायतका झन्झट बेहोर्नुपर्छ र खर्च पनि हुन्छ । नियमित क्लिनिङ गरे अरु झन्झट हुँदैन ।
ब्याक्टेरिया : सधैँको शत्रु
कुन उमेरको मानिसको दाँतलाई कीराले आक्रमण गर्छ भन्ने हुँदैन । जहाँ दाँत हुन्छ, त्यहाँ कीराको आक्रमणको खतरा रहेकै हुन्छ । दाँतमा हुने कीरा एक प्रकारको ब्याक्टेरिया नै हो । हाम्रो मुखमा मात्रै करिब पाँच सय प्रकारका ब्याक्टेरिया रहन्छन् । चिनी, गुलियो पदार्थलगायत कार्बोहाइड्रेटयुक्त खानाले ब्याक्टोरियालाई फस्टाउने वातावरण बन्छ । उसले त्यहीँबाट एसिड फर्मेसन गर्छ । उसले उत्पादन गरेको एसिडले नै दाँत खाइदिन्छ ।
हामीले कुनै पनि खानेकुरा खाँदा दाँतको दृष्टिकोणबाट आत्तिनुपर्दैन । सही मात्रामा खाँदा हुन्छ तर खाएपछि दाँत सफा गर्नुपर्छ । हरेक पटक खाना खाएपछि सके ब्रस गर्नु, सम्भव नभए कुल्ला गरिहाल्नुपर्छ । दाँत बिग्रिन्छ भनेर अभिभावकले बालबालिकालाई चकलेट दिन खोज्दैनन् । चकलेटले केही फरक पार्दैन तर चकलेट खाएपछि दाँत ब्रस गर्नु्पर्छ, नभए कुल्ला गर्न बिर्सनुहँुदैन ।
कसरी खान्छ कीराले ?
मानिसको दाँत कीराले खाने प्रक्रिया एक÷दुई दिनमै टुंगिने होइन, लामो प्रक्रिया हुन्छ । ब्याक्टेरियाले बिस्तारै आफ्नो पकड जमाउन थालेपछि एसिड उत्पादन गरेपछि दाँत बिगँ्रदै जान थाल्छ । दाँतको सबैभन्दा भित्र पल्पमा नसाहरु पुगेको हुन्छ । त्यो बाहिरको डेन्टिनमा नसाहरु टुंगिएको हुन्छ । त्यसको बाहिर इनामेलले घेरेको हुन्छ । मानव शरीरको सबैभन्दा कडा भाग भएकाले इनामेलमा एसिडले आक्रमण गरुन्जेल केही फरक पर्दैन । डेन्टिनमा पुगेपछि हल्का ‘सिरिङसिरिङ’ हुन थाल्छ र अझै भित्र पुगेपछि बल्ल दुख्न सुरु हुन्छ ।
कसरी हुन्छ उपचार ?
दाँतमा कत्तिको कीराले खाएको छ, त्यसका आधारमा उपचारको विधि फरक पर्छ । एकदमै सानो रुपमा असर गरेको भए फ्लोराइड भएको टुथपेस्टले सावधानीपूर्वक दाँत माझेमा कीराको असर नियन्त्रण हुने र फैलनबाट रोकिन्छ । बढी नै आक्रमण गरेको भए फिलिङ गर्नुपर्छ । फिलिङले पनि नहुने अवस्थामा छ भने आरसिटी (रुट कनाल ट्रिटमेन्ट), जसलाई जरैदेखि उपचार गर्नुपर्छ । जुन खर्चिलो, झन्झटिलो र समय लाग्ने हुन्छ ।
बुढ्यौलीमा मानिसहरुको दाँत झर्न थाल्छ तर त्यो नियमित प्रक्रिया होइन । ‘वेयर एन्ड टियर’ भन्ने अवधारणाअनुसार लामो समय कुनै पनि चीजको प्रयोग भए त्यसको आयु घट्दै जान्छ र अन्त्यमा काम नलाग्ने हुन्छ । बालक अवस्थादेखि नै दाँतको नियमित हेरचाह भएमा बुढ्यौली लाग्दैमा दाँत झर्ने हुँदैन । तर, दाँतको अवस्था तुलनात्मक रुपमा कमजोर हुन्छ । तर, बालकहरुको १२/१३ वर्षसम्म एकसेट दाँत पूरै झरेर पलाउँछ ।
बुद्धि बंगारो : भ्रम र यथार्थ
मानिसहरुको दाँतको सबैभन्दा पछिल्लो लाइनमा हुने दाँतलाई ‘बुद्धि बंगारो’ भनिन्छ । अंग्रेजीमा पनि यसलाई ‘विज्डम टिथ’ नै भनिन्छ । सबैभन्दा ढिलो उम्रिने दाँत यही हो, जुन करिब १८ वर्षपछि आउन सुरु गर्छ । उद्विकासको क्रममा पहिले मानिसको बंगाराको आकार केही लाम्चो थियो र पछि चेप्टिँदै आयो भनिन्छ । त्यस क्रममा दाँतको संख्या भने ३२ नै रह्यो । कुनामा रहने भएकाले बुद्धि बंगारोलाई रहने ठाउँ पुग्दैन । त्यसैले कुनामा रहेको बुद्धि बंगारो नियमितभन्दा फरक ढंगले बांगिएर, टेढिएर उम्रिने हुन्छ । विकसित मुलुकमा भने त्यसको कुनै काम नहुने भएकाले निकालेर फालिदिने चलन छ । नेपालमा भने खासै चलन सुरु भएको छैन ।
३२ वटा दाँतमध्ये सबैको आ–आफ्नो जिम्मेवारी र काम हुन्छ । अगाडिकाले टोक्ने, बीचकाले लुछ्ने र त्योभन्दा पछाडिकाले चपाउने काम गर्छ । तर, सबैभन्दा पछाडि हुने बुद्धि बंगारोको खासै काम आउँदैन । ब्रस पनि नपुग्ने भएकाले त्यसको हेरचाह पनि कम हुन्छ । बुद्धि बंगारोमा खाना अड्कियो भने त्यसले अगाडिको दाँत पनि बिगार्न सक्छ । माथिको तुलनामा तलपट्टिको बुद्धि बंगारोमा बढी समस्या देखिन्छ । ‘कीरा लाग्ने’ समस्या बंगाराहरुमा बढी देखिन्छ । त्यसको संरचना नै खाल्डाखुल्डीयुक्त र सफा गर्न गाह्रो हुने प्रकृतिको हुन्छ ।
के टोक्ने ? के नटोक्ने ?
दाँतले नै साह्रो कुरा टोक्ने र खोल्ने गर्दा भाँच्चिन सक्छ । कोकको बोत्तल खोल्नेदेखि दाँतले नै मसिना तार चुँडाउनेहरु पनि छन् । सुपारी दाँतको शत्रु नै हो । कडा हुने भएकाले एक त चपाउने क्रममा त्यसले दाँतलाई असर गर्छ भने त्यसमा पाइने एक तत्वले मुखभित्रको नरम भागलाई कडा बनाइदिन्छ र मुख नखुल्ने समस्या बनाइदिन्छ ।
पानले पनि दाँतलाई फाइदा गर्दैन । चुरोटले दाँतमा दाग बसाल्छ । खैनीले पनि दाँतलाई हानि पु¥याउने भएकाले सेवन गर्नुहँुदैन । हाम्रो घरतिर छुर्पी खाँदा कसैले पनि त्यसलाई हतोस्साहित गरेको पाइँदैन । टोक्नुपर्ने भएकाले छुर्पी खाँदा दाँत भाँच्चिने, कमजोर हुने समस्या देखिन्छ ।